कञ्चनपुर । नेपाल राना थारु समाजले भीमदत्त नगरपालिका २ उल्टाखाममा यौनजन्य हिंसाबाट पीडित बालिकालाई न्याय दिन माग गर्दै शुक्रवार प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको १३ औँ स्थापना दिवस एवम् दोस्रो दीक्षान्त समारोह उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवालाई समाजका अध्यक्ष कृपाराम रानाले बालिकालाई न्यायका लागि पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा पीडित बालिकालाई तत्काल स्वास्थ्य उपचार गरिनु पर्ने, घट्ना सत्यतथ्य छानबिन गर्नुपर्ने, बालिकालाई निःशुल्क शिक्षा, भरणपोषणको व्यवस्था र सामाजिक सुरक्षा हुनुपर्ने माग राखिएको छ ।

गत जेठ १० गते ११ वर्षीया ती बालिकामाथि स्थानीय दिनेश मालीले यौनजन्य हिंसा गरेका थिए । समाजले पीडित बालिकालाई न्यायका लागि गृहमन्त्री बालकृष्ण खाँणलाई काठमाडौंमा पनि माग पत्र बुझाएको थियो। अहिले प्रधानमन्त्री देउवा महेन्द्रनगर आएको मौका पारी फेरि न्यायका लागि ज्ञापन बुझाएको छ । समाजका अध्यक्ष रानाले पीडित बालिकामाथि यौनजन्य हिंसा गरी कुटपिट गरी ज्यान मार्ने खोजिएकाले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राख्नु भयो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले हिंसाबाट पीडित बालिकालाई न्याय दिलाउनका लागि प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुस