कञ्चनपुरमा अति विपन्न भुमिहीनलाई राहत वितरण गरिएको छ । वेदकोट नगरपालिका वडा नम्बर ५ धर्मपुरका अति विपन्न भूमिहीन परिवारलाई आज राहत सामग्री वितरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत हेविटाट् नेपालको संयुक्त साझेदारीमा सञ्चालित मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमका लागि छनौट गरिएका अति विपन्न २५ परिवारलाई खाद्य तथा गैरखाद्य सामग्री वितरण गरिएको हो ।

मेट लाइफ फाउण्डेशनको ‘खाद्यान्नका लागि आवास’ कार्यक्रम अन्तर्गत अति विपन्न अवस्थाका परिवारलाई जीरा मसिनो चामल ३० किलो, मुसुरोको दाल चार किलो, आयोडिनयुक्त नुन दुई प्याकेट, रिफाईन तेल तीन लिटर, चिनी दुई किलो, सोयाविन दुई किलो, आलु पाँच किलो, डिटोल साबुन छ गोटाका दरले वितरण गरिएको छ ।

यसैगरी विपन्न परिवारलाई राहत सामग्रीसँगै काइँयो, टूथपेष्ट, ब्रस, सेनेटरी प्याड, मास्क, प्लाष्टिक बाल्टी समेत वितरण गरिएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका नापी अधिकृत धर्मराज ओझा, हेविटाट्का पश्चिम फिल्ड कार्यालयका परियोजना प्रमुख पुनिता चौधरी, मेटलाईफ फाउन्डेसनका जनकराज जोशी, राष्ट्रिय मुक्ति हलिया समाजका अध्यक्ष शिवी लुहार, आरडीएनका अध्यक्ष मोहन ओड, पूर्व वडा अध्यक्ष गणेश विक लगायतले राहत सामग्री वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुस