बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष सरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष नेगीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो । वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुबैजनालाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश गरेको थियो । पीडित महिला परिवारकै संरक्षण रहेकी छन् ।
नेगी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली १ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका नेगी बलात्कार काण्डमा मुछिएपछि एमाले बैतडी चिन्तित भएको छ ।