कञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभूलीबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीवार पत्रकार सम्मेलन गरी डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर ३ काडेकी ४० वर्षीय मालती मल्ल (सेठी) र वडा नं ३ का जोसिनाका २९ वर्षीय मोहन सार्कीलाई चितुवाको छाला सहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट दुई थान वयस्क चितुवाको छाला बरामद गरिएको छ । बरामद गरिएका छालामा एक ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइको रहेको छ। अर्को छाला ७ फिट २ इन्च लम्बाइ र २ फिट ८ इन्च चौडाइको रहेको छ ।

चितुवाको छाला बुधवार साँझ देखतभूली निरञ्जन मल्लको धानबालीमा बोरा भित्र लुकाई राखेको अवस्थामा भेटिएको हो । पक्राउ परेका दुवैजना निरञ्जनको कुखुरा फार्मको काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताउनु भयो ।

चितुवाको छाला पहाडी क्षेत्रबाट ल्याएको हुन सक्ने उहाले बताउनु भयो । यसै विच थप कारबाहीका लागि सब डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुस