महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अवैध रुपमा खोलानालाबाट ग्राभेल उठाईरहेको पाईएको छ । असार देखि भदौसम्म खोला तथा नदीहरुमा उत्थखनन् गर्न रोक लगाईएको भएपनि भीमदत्तले मनोमानी रुपमा ग्राभेल उठाईरहेको पाईएको हो ।

नगरपालिकाको श्रोत साधन परिचालन समितिले असार, साउन र भदौ गरि तीन महिना खोला तथा नदीबाट ग्राभेल उठाउन रोक लगाउने निर्णय गरेका छ । तर नगरपालिकाले आफ्नै विषयगत समितिको निर्णयलाई लत्याउदैँ मनोमानी तरिकाले ग्राभेल उठाईरहेको हो ।

समितिका सदस्य पदम चन्दले वर्षाद सुरु भएसँगै तीन महिना खोलाबाट ग्राभेल उत्खनन्मा रोक लगाउने निर्णय गरेको बताए । उनले बाढीले डुबानमा परेका क्षेत्रमा लागि आकस्मीक रुपमा मात्रै ग्राभेल उठाउने बाहेक अन्य प्रयोजनका लागि मात्रै ग्राभेल उठाउन नपाईने समितिले निर्णय गरेको बताए ।

नगरपालिकाका एक कार्यपालिका सदस्यले नगरपालिकाले नियमित रुपमा ग्राभेल उठाई रहेको बताए । उनका अनुसार नगरपालिकाले खन्या खोला, रौटेला खोला, ब्रह्मदेव क्षेत्र लगायतबाट ग्राभेल उठाईरहेको छ ।

नगरपालिकाको विषयगत समितिले उत्थखनन्मा रोक लगाएको भएपनि ग्राभेल नियमित रुपमा संकलन भईरहेको छ ।’ ति कार्यपालिका सदस्यले भने ‘वडाहरुमा आलोपालो गरि ग्राभेल हाल्ने काम भईरहेको छ, शनिबार भने मेयर र उप मेयरसापको पालो हुन्छ ।’

शनिबार मेयर र उप मेयरको निर्देशन अनुसार ग्राभेल परिचालन हुने गरेको ति कार्यपालिका सदस्यको भनाई छ ।

भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरि सिंह धामीले ठुला खल्डा भएका केही सडकका लागि मात्रै ग्राभेल ल्याईने गरेको बताए । ‘नियमित रुपमा ग्राभेल उठाउने काम अहिले बन्द छ, अत्याआवश्यक भएको ठाउँका लागि मात्रै जिसस र प्रशासनसँगको समन्वयमा ग्राभेल हाल्ने गरेका छौँ ।’

नियमित रुपमा ग्राभेल उठाउने काम नभएको उनको दावि छ । त्यस्तै नागरिकको सहजताका लागि वडागत रुपमा ग्राभेल हालिए पनि मेयर, उप–मेयरका लागि छुट्टै दिन तोकिएको बारे आफुलाई जानकारी नभएको उनले बताए । नगरपालिकाले जथाभावि रुपमा ग्राभेल उठाउँदा नदी कटानको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुस