काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विशेष बैठक सम्पन्न भएको छ । बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सक्रिय बहिस्कार गर्ने निर्णय गरेको छ । २०७९ साल भाद्र महिनाको १० देखि १२ गतेसम्म चलेको बैठकले आसन्न निर्वाचन सक्रिय बहिस्कार गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव मोहन वैद्य किरणले  प्रेस वक्तव्यमा निर्वाचन बहिस्कार गर्नु पर्ने कारण र आधारलाई पाँचवटा बुँदामा उल्लेख गरिएको छ ।

क) स्वच्छ, निष्पक्ष तथा धाँधली रहित उदारवादी हिसावले सम्पन्न गरिने नभई वर्तमान राज्यसत्ता तथा व्यवस्थाका प्रतिनिधिहरुद्वारा फासीवादी ढङ्गले प्रस्तुत हुने देखिएको ,

(ख)प्रतिक्रियावादी, अवसरवादी तथा भ्रस्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने, साधन स्रोतहरुको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायहरुको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रुपमा त्रसित, आतङ्कित एवम् भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेको,

(ग) आफूलाई कम्युनिस्ट बताउँदै आएका कैयौं पार्टी तथा सङ्गठनहरु संसदको उपयोग गर्ने वा भागलिने मात्र नभई प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाप्रति नै आत्मसमर्पण गर्दै आएको, उपयोगको नाममा सरकारमा सामेल भई मिलेराँवादको अभ्यास गर्ने, पुरानो राज्यसत्ता तथा व्यवस्थालाई सघाउने एवम् त्यसैमा विलय हुने, विरोधी पार्टीको चुनाव चिन्ह लिई आफ्नो अस्तित्व नै गुमाउने, संसदको उपयोग होइन संसदबाटै उपयोग हुने जस्ता निकृष्ट उदाहरण र नकारात्मक अनुभव प्रचुर मात्रामा रहेका र ती सबैबाट आवश्यक पाठ सिक्दै अघि बढ्न जरुरी भएको,

(घ) वर्तमान राज्यसत्ता, व्यवस्था र सरकार आर्थिक, राजनीतिक तथा सांस्कृतिक दृष्टिले चरम रुपमा सङ्कटग्रस्त बन्दै गएको, सरकारका कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका तीनओटै अङ्ग दिन प्रतिदिन असफल हुँदै आएको, वर्तमान गठबन्धन सरकार भारतीय विस्तारवाद सित गरिएका तमाम असमान सन्धि सम्झौताहरुलाई निरन्तरता दिंदै तथा देशका विभिन्न भूभागहरुमा भएका तथा जनसाङ्ख्यिक अतिक्रमणप्रति मौन रहँदै र अमेरिकी साम्राज्यवादसित दलाली तथा आत्मसमर्पण गरी राष्ट्रघाती एमसीसी संझौता पारित गर्न निर्लज्जरुपमा प्रस्तुत भएको र ती सबै कुकृत्यहरुको भण्डाफोर गर्न आवश्यक हुन गएको र

(ङ) यो बेला राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको वास्तविक समाधान गर्नका लागि वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न ऐतिहासिक तथा राजनीतिक दृष्टिले अनिवार्य तथा अपरिहार्य रहेकोले, निर्वाचन सक्रिय बहिस्कार निर्णय गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

महासचिव किरणद्वारा केन्द्रीय समितिको बैठकमा प्रस्तुत “वर्तमान परिस्थिति र संसदीय निर्वाचन” शीर्षक रहेको राजनीतिक प्रस्ताव व्यापक छलफल तथा बहसपश्चात आवश्यक संशोधन तथा थपघट सहित पारित भएको थियो ।

बैठकले सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध तुल्याउने समेत निर्णय गरेको छ । यस प्रक्रियामा नेकपा ९क्रान्तिकारी माओवादी० र नेकपा ९बहुमत०का बीच पार्टी एकता संयोजन समिति निर्माण गरिएकोमा त्यसबाट जनमानस तथा क्रान्तिकारी कम्युनिस्ट पङ्क्तिमा सकारात्मक सन्देश प्रवाहित गरेको छ र उत्साहित तुल्याएको विश्लेषण गर्दै क्रान्तिकारी माओवादी र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित यो प्रक्रियालाई प्रभावकारी ढङ्गले अगाडि बढाउन र क्रान्तिकारी कम्युनिस्ट शक्तिको सिद्धान्तनिष्ठ एकीकरण गर्न प्रतिबद्ध रहेको समेत बैठकमा निष्कर्ष निकालिएको छ ।

 

प्रतिक्रिया दिनुस