कञ्चनपुर, १ कार्तिक

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारसंगै केही फरक क्षेत्रबाट समेत उम्मेदवार बनेका छन । यस पटक कञ्चनपुरमा उद्योगी, व्यवसायी क्षेत्रबाट समेत उम्मेदवार बनेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी निर्वाचन क्षेत्र ३(क) र बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउद क्षेत्र १(ख) तर्फ उम्मेदवार बनेका छन ।

दुवै जनाले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन । यद्यपी कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जोशी काँग्रेस र बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष साउद एमालेबाट बागी उम्मेदवार भएको भन्दै काँग्रेस–एमालेबाट कार्बाहीमा परेका छन । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका साउद एमालेबाट सिफारिस भएका थिए । तर उनले आधिकारिक टिकट पाएनन् ।

दुवै उम्मेदवारले आफुलाई स्वतन्त्र रुपमा अघि सारेर सार्दै चुनावी एजेण्डाका साथ मतमागिरहेका छन । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेक बहादुर साउदले दलहरुबाट जनता आक्र्रान्त भएका बेला स्वतन्त्रबाट आफु अघि सरेको बताए । ‘दलबाट जनता हैरान भएका छन, ‘उनले भने, ‘जन चाहना अनुरुप म स्वतन्त्र रुपमा अघि आएको छु ।’

साउदले क्षेत्रको औद्योगिक विकास, पर्यटन विकास, बेलौरी भन्सार स्तरोन्नतीको एजेण्डा अघि सारेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले दलबाट जनताले अपेक्षाकृत विकास र निकास नपाएकाले आफु प्रदेश सभा सदस्यको उम्मेदवार बनेको बताए । उनले औद्योगिक व्यवसायीक विकास, रोजगारीदेखि उमुन्नत समाजको निर्माणको एजेण्डा अघि सारेका छन ।

जोशीले स्थानीय स्तरमा उत्पादित बस्तु तथा स्रोतको उपभोग गर्दै गरिबी उन्मुलन गर्ने बताए । १३वटै वडामा टिम परिचालन भएको बताउदै उनले केही दिनमै घोषणा पत्र जारी गरिने बताए । साउदले लालटिन र जोशीले डल्फिन चुनाव चिन्ह लिएर चुनावी प्रचारप्रसार अभियानमा जुटेका छन । अध्यक्ष जोशीसंगै कञ्चनपुर उद्योग वाणिज्य संघका तर्फबाट सदस्य गोपाल बुढापाल समेत क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका छन ।

बुढापाल पनि काँग्रेस निकट हुन । उनले पङखा चुनाव चिन्ह पाएका छन । बुढापाल साईकलमै चुनावमा होमिएका छन । वाणिज्य संघका पदाधिकारी सदस्य नै चुनावमा होमिएपछि चुनावको छुट्टै रौनक छाएको छ ।

प्रतिक्रिया दिनुस