कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र ३(क)का उम्मेदवार टेकेन्द्र प्रशाद भट्टले अधुरा योजना पुरा गर्नका लागि गठबन्धन भएको बताएका छन । आम मतदाताहरुमा अपिल गर्दै भट्टले अधुरा योजना पुरा गर्नका लागि गठबन्धन भएको बताएका हुन । भट्टले आम मतदाताहरुमा अपिल गरेको जस्ताको तेस्तै नमस्कार, म टेकेन्द्र भट्ट, आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा कञ्चनपुर जिल्लाको क्षेत्र नं ३ क बाट उम्मेद्वार छु ।
आदरणीय बा आमा दाजुभाइ दिदिबहिनीहरू, चुनावको बेला तपाईंको घरदैलोमा पुगेर, फोनमा, फेसबुक, ट्विटर, युट्युब, टिकटक लगायत थुप्रै माध्यमबाट सबै उम्मेदवारले भोट मागिरहेका छन् । सबै उम्मेदवारले आफूले गर्ने कामको आश्वासन दिईरहेका पनि होलान् । अनि तपाईको मनमा प्रश्न उठ्छ होला( चुनावका बेला त कति विकासका कुरा गर्छन्, यो गर्छु भन्छ्न त्यो गर्छु भन्छन् तर हाम्रा दिन हामीसँगै । तपाईंहरुले यो सोच्नु स्वभाविकै हो । किनभने यो अहिले मतदाताको नियति बनेको छ ।
किनभने मेरो भोगाई पनि तपाईहरु जस्तै छ । म २०६४ सालमा संविधान सभा सदस्य बनेर पहिलोपटक नीति निर्माण तहमा आवाज उठाउने ठाउँमा पुगेको थियो । त्यो बेला आफू हुर्केबढेको, पढेको, राजनीति गरेको कञ्चनपुर जिल्लाका लागि र।समग्र सुदूरपश्चिमका लागि केही गरौं । युद्धमा त्यति सपना बाँडेका थियौ, अब शान्तिमा आइसकेपछि ती सपना पूरा गरौं भन्ने मलाई लागेको थियो ।
त्यसपछि साथीभाई, पार्टीको सिनियर नेताहरुसँग छलफल गरेर हामीले प्रचण्ड प्रधानमन्त्री हुँदा यसक्षेत्रका केही गेम चेन्जर योजना प्रस्तुत गर्यौं । कञ्चनपुरको दोधारा चाँदनीलाई चीन नेपाल र भारतको त्रिदेशीय नाका बनाउन सकिने, महाकाली करिडोर खोलेर यातायात सहज गर्ने, बझाङको ताक्लाकोटलाई गड्डाचौकी र गौरिफन्टा जोडने, कैलालीको हरैयामा सयौं उद्ध्योग स्थापना हुने गरि विशेष आर्थिक क्षेत्र, दैजी छेलामा औद्ध्यौगिक क्षेत्र, सुदूर पश्चिमको आफ्नै विश्वविद्ध्यालय र मेडिकल कलेज, जलविद्धुत परियोजनाहरु जस्ता रणनीति योजना माओवादी पार्टीले अघि सारेको थियो । सुपकै इतिहासमा टुक्रटाक्री योजनाबाहेक यसरी यस क्षेत्रकै समग्र रुपान्तरण गर्ने योजनाले पहिलोपटक मूर्तरुप लिन थालेको थियो ।
त्यहि काम पूरा गर्न माओवादीकै पालामा सुदुरपश्चिम विकास आयोग समेत गठन भयो । तर दुखको कुरा के भने हामी लामो समय सत्तामा बस्न सकेनौ । राजनीतिक अस्थिरताको चपेटामा हाम्रा योजनाहरु परे । माथि भनिएका सबै योजना घोषणा भए तर हामीले सोचेकोस्तरमा काम अघि बढेन । अनि काम नहुने जस मात्रै आफूले लिने प्रवृति देखा पर्यो । नीति हाम्रो थियो, योजना हामीले प्रस्ताव गरेका थियौं तर यी कुरा अघि बढाउन हामीसँग सरकारको नेतृत्व थिएन ।
कांग्रेससँग मिलेर प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री हुँदा हामीभित्र केही आस पलायो । कांग्रेसबाट यसैक्षेत्रका सांसद बौद्धिक व्यक्तित्व रमेश लेखक भौतिक योजना मन्त्री थिए भने कैलालीबाट तत्कालिन माओवादी नेता लेखराज भट्ट समेत क्याबिनेट मन्त्रि थिए। यसले गर्दा विगतमा हामीले प्रस्ताव गरेका र शुरु गरेका योजना अघि बढाउन अनुकुल वातावरण जन्मियो । यहाँहरुलाई सम्झना होला, त्यही वर्ष प्रचण्डको भारत भ्रमणको बेला सुक्खा बन्दरगाह, महाकालीमा ४ लेनको पुल, महाकाली सिचाइको तेश्रो चरणको परियोजना, गौरिफन्टा नाकालगायतका कतिपय एजेण्डामा दुबै देशबीच सहमति भयो ।
अहिले जसले जे जसरि यी कामको जस लिएपनि तत्कालउन भारतीय प्रम नरेन्द्र मोदी र नेपालका प्रम प्रचण्डबीचको यो समझदारि कञ्चनपुरको, सुदूरपश्चिम र देशकै लागि कोशेढुंगा बन्न पुगेको थियो । तर मैले माथि भनेझैं यी योजनाहरु फेरि राजनीतिक अस्थिरताको भूमरिमा परे । नेकपाको सरकार आयु पूरा नहुँदै पार्टी विभाजनको ब्याजसहित ढल्न पुग्यो । दुईदुईपटक संसद विघटन, अस्थिर सरकार, सुदूरपश्चिमको मेद्दा भन्दा राष्ट्रिय राजनीतिका अन्य नीतिगत मुद्दा प्राथमिकतामा परेका कारण फेरि हामी निराश हुन पुग्यौं ।
आदरणीय मतदाता महानुभावहरु, म टुक्रामा दक्षिणा बाँडेर तत्कालको राजनीतिक लाभ लिने कुरा भन्दा दीर्घकालिनरुपमा क्रान्तकारि रुपान्तरणमा विश्वास गर्छु । यसका लागि कञ्चनपुर र सुदूरपश्चिमकै समग्र रुपान्तरण हुने गेम चेन्जर योजनाहरुले मूर्तरुप लिनु जरुरि छ । सुक्खा बन्दरगाह र विशेष आर्थिक र औद्ध्यौगिक क्षेत्र मात्रै सञ्चालनमा ल्याउन सके १० हजार बढीले रोजगारि पाउँछन् ।
महाकाली अस्पताललाई विशिष्ट सेवासहितको उपचार गर्ने संस्था बनाउन सके हजारौले निशुल्क, सस्तो र भरपर्दो उपचार पाउँछन् । भारतसँग जोडेर धार्मिक र कञ्चनपुरको प्राकृतिक पर्यटनका पूर्वाधार र अभियान सञ्चालन गर्न सके सयौं व्यापारी लाभान्वित हुन्छन् । हाम्रो विश्वविद्यालय सुधार गर्न सके हजारौले घरदैलोमै उच्च गुणस्तरिय शिक्षा पाउँछन् । तर यी सबै कुरा म गर्छु या गर्नेछु भनेर आश्वासन दिएर मात्र हुँदैन ।
चुनाव जितेर मात्रै पनि यी कुरा पूरा हुँदैनन् । यसका लागि पहिलो कुरा यी गेम चेन्जर योजनाको भिजन र तिनलाई कार्यान्वयन गर्ने इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ । अर्को कुरा, राष्ट्रिय राजनीतिमा पनि अग्रगामी स्थिर सरकार आवश्यक हुन्छ । त्यसैले अहिले फेरि हाम्रा लागि अवसर र संयोग जुटेको छ । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि म र प्रतिनिधि सभाका लागि कांग्रेसबाट रमेश लेखक गठबन्धनका साझा उम्मेद्वार बनेका छौं ।
हामीले विगतमा पूर्णरुपमा कार्यान्वयन गर्न नसकेका यी सबै महत्वपूर्ण काम पूरा गर्न र अरु नयाँ रणनीतिक काम अघि बढाउन प्रदेश र केन्द्रमा हाम्रो उपस्थितिले निर्णायक महत्व राख्ने स्पष्ट नै छ । अर्कोतर्फ गठबन्धनका पक्षमा देखिएको जनलहरले पनि अबको सरकार गठबन्धनकै बन्ने र सरकरको नेतृत्व समेत हाम्रा यी योजनाप्रति गम्भीर रहेका शीर्ष नेता नै हुने पनि स्पष्ट छ । कतिपय अवस्थामा नातागोता, आफन्त या व्यक्ति हेरेर भोट दिन पनि मन लाग्छ ।
यो स्वभाविक पनि हो । तर अहिले हाम्रो एक भोटले हाम्रो भविष्य फेरि गोलचक्करमा पर्न सक्छ । तसर्थ मेरो अनुरोध छ, यसपालिको भोट हामीले देखेका सपना पूरा गर्न दिऔं । हाम्रा अधुरा योजना पूरा गर्न दिऔं ।
हामीले नै जन्माएका योजना भएकोले पनि यी पूरा गर्नैपर्ने दायित्व र जिम्मेवारी हाम्रो हो । मेरो तर्फबाट भन्दा यी सबै काम पूरा गर्नेछु भनेर मैले प्रतिबद्धता गर्नु पर्ने नै देख्दिन किनभने यी त मेरा आफ्ना काम हुन, आफुले देखेका सपना हुन । त्यसैले यहाँहरुसमक्ष गठबन्धनका उम्मेदवारलाई विजयी गराउन हुन अनुरोध गर्दछु । गठबन्धनको जीतमा मात्रै कञ्चनपुरको भविष्य सुनिश्चित छ ।