महेन्द्रनगर । कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रका निवर्तमान सांसद तथा आसन्न निर्वाचनका प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर धामीले आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेको छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफ्नो ५ वर्षीय कार्यकालमा भएका कामबारे जानकारी दिए ।

भूमिहीन सुकुम्बासी, आरक्षपीडित लगायतका स्थानीय मुद्दाहरूलाई चर्को रूपमा संसदमा उठाउँदै आएका सांसद धामीले विकास पूर्वाधार निर्माणमा पनि महत्त्वपूर्ण काम गरेका छन् ।

पूर्वाधार निर्माणतर्फ बंक–नायल सडकको १० किलोमिटर सडकको ट्रयाक खोल्नेदेखि ग्रामीण सडक निर्माण, स्तरोन्नति र पुल निर्माणमा महत्त्वपूर्ण योजना अगाडि बढाएका छन् । सामुदायिक विद्यालयको सुधार प्रविधिमैत्री बनाउन सांसद धामीले काम गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा ३ वटै पालिकामा आवश्यक पूर्वाधार निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेको उनले बताए । कृष्णपुर–९ स्थित सानागाउँ जोड्ने झोलुङ्गे पुल निर्माण, वडा नम्बर ८ को मझगाईदेखि कैलालीको श्रीलंका जोड्ने पक्की पुल निर्माण कार्य अगाडि बढेको बताइएको छ ।

वडा नम्बर ७ शान्तिपुरबाट गेटा जाने पक्की पुल निर्माणका लागि टेन्डर भइसकेको छ भने सोही वडाको शान्तिपुर मदनीयाँबाट अत्तरिया जाने पक्की पुल निर्माणको काम अगाडि बढेको छ ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका सांसद धामीको कार्यकालमा मोहना नदीमा मात्रै ४ पक्की पुल निर्माण कार्य शुरू भएको छ ।

रणनीतिक महत्त्वको सडक निर्माण कार्यक्रमअन्तर्गत खल्लाढैयादेखि पवित्रा बस्ती हुँदै कृष्णपुर ६,७, ८, ९ भएर सिमलकोट हुँदै वनदेवीसम्म करीब १० किलोमिटर कालेपत्रे सडकको टेन्डर भइसकेको उनले बताए ।

उनको कार्यकालमा ग्वाँसी समैजी धार्मिक पर्यटनको विकासका लागि काम गरिएको छ । बनहरा नदीमा पक्की पुल निर्माण लागि ठेक्का सम्झौता भइसकेको छ ।

सांसद धामीको कार्यकालमा खेलकुदको विकासका लागि पनि शुक्लाफाँटा कभर्ड हल निर्माणाधीन अवस्थामा छ । नगरका सबै क्षेत्रलाई सडक सञ्जालमा जोड्न शुक्लाफाँटामा चक्रपथको काम शुरू गरिएको छ । नगरका सबै वडाहरूमा स्थानीय सरकारसँगको सहकार्यमा सडक निर्माण, कालोपत्रे तथा स्तरोन्नतिको काम गरिएको उनले बताए ।

मधेश समृद्धि कार्यक्रम मणिकाधाम जाने बाटो स्तरोन्नति गरिएको छ भने बेदकोटको पोलखरी र धरमपुर–घुर्सुवा पुल निर्माणका लागि पनि ठेक्का प्रक्रियामा रहेको उनले बताए । बगुनदेखि बैतडासम्म ७ किलोमिटर चक्रपथमा समावेश गरिएको छ । मुसेपानीदेखि डडेल्धुराको परशुरामधाम जाने चुनेपानी सडकका लागि करीब ७ करोड विनियोजन भएको छ ।

सुदूरपश्चिमकै आर्थिक विकाससँग जोडिएको दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास भई काम अघि बढेको छ । करीब ९ अर्ब बजेट खर्च हुने औद्योगिक क्षेत्र निर्माणपछि हजारौंले रोजगारी पाउने बताइएको छ ।

निवर्तमान सांसद धामीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २ नम्बर क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा आईसीटी ल्याब स्थापना गरी प्रविधिमैत्री बनाउन जोड दिइएको उनले बताए । उनका अनुसार महाकाली मावि, राष्ट्रिय मावि पिपलाडी, रत्न मावि चतहरी, शिवशक्ति मावि कालागौडी, बैजनाथ मावि कसरौल, सरस्वती मावि लगायतका विद्यायलमा आईसीटी ल्याब स्थापना गरिएको छ ।

शुक्लाफाँटा–११ मा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ । जसबाट गरीब तथा विपन्न परिवारका विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा पढ्न पाउने भएको छन् । मालिका टोलमा सीटीईभीटीलाई आवश्यक पूर्वाधार निर्माण र विस्तारका लागि ९ बिघा जमिन उपलब्ध गराइएको छ ।

सांसद धामीको कार्यकालमा स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् । शुक्लाफाँटा–१० मा प्रसूति गृह निर्माण गरी सेवा शुरू गरिएको छ भने ३ वटै पालिकामा १५ शय्याको नगर अस्पताल निर्माणका लागि पनि काम अघि बढेको छ । शुक्लाफाँटा–५ मा सेफ हाउस निर्माण गरिएको छ ।

सबै वडामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । असिग्राम स्वास्थ्य चौकीलाई पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । सुन्दरपुरमा जग्गा नापीको समस्या समाधानका लागि कार्यदल गठन गरी काम अन्तिम चरणमा रहेको छ ।

भूमिहीन सुकुम्बासीको समस्या सामाधानका लागि आयोग गठन गरी काम चलिरहेको अवस्थामा परमादेशी सरकारले आयोग नै विघटन गरेर काम ठप्प पारेको उनले बताए । आरक्षपीडितको समस्या सामाधानका लागि पनि कार्यदल गठन गरी प्रतिवेदन समेत मन्त्रालयमा बुझाइसकिएको वर्तमान देउवा नेतृत्वको सरकारले त्यसका अगाडि बढाएको छैन ।

आसन्न निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने दाबी गर्दै सासंद धामीले अधुरा कामहरू पूरा गर्ने प्रतिबद्धता समेत जनाए । आसन्न निर्वाचनमा सांसद दोहोरिन चाहेका नेता धामी आफूले गरेका कामसहित जनतामाझ पुगेको छन् ।

प्रतिक्रिया दिनुस