बैतडी असोज ३ ,बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाका दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीहरु द्वारा गठित सङ्घर्ष समितिले वडा नंं। ४ र ७ का कार्यालयमा बुधबारदेखि तालाबन्दी गरिएको छ । समितिले स्वास्थ्य संस्थाबाहेक वडा कार्यालय, विद्यालय र विभिन्न सङ्घ संस्थालगायतका कार्यालयमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।

राज्य पुनःसंरचना हुँदा गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविस तोकेको भए पनि गत भदौ २५ गतेको गाउँकार्यपालिकाको बैठकले केन्द्र छनोटको लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो । उक्त बैठकले विज्ञ टोली बोलाउने निर्णय गरेको र उक्त टोलीको प्रतिवेदनका आधारमा केन्द्र छनोट गरिने गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।

गाउँपालिकाको उक्त निर्णयको विरोध गर्दै वडा नं।४ र ७ का स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले सङ्घर्ष समिति गठन गरी यसअघि गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेका छन् । गाउँपालिका केन्द्र अन्यत्र सारिए कडा आन्दोलनमा जाने स्थानीयवासी महेश पन्तले बताउनुभयो ।

गाउँकार्यपालिकाको पहिलो बैठकले साविकको डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने भने पनि हाल आएर गाउँपालिका अन्यत्र सार्न चलखेल भएकोले बाध्य भएर आन्दोलन गर्नुपरेको महेश पन्तको भनाइ छ ।

वडा कार्यालयलगायत अन्य कार्यालयका तालाबन्दी हुँदा सम्पूर्ण कामकाज ठप्प भएका वडा नं ७ का वडाध्यक्ष प्रेम सिंह धामीले जानकारी दिनुभयो । सम्पूर्ण कामकाज ठप्प हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् ।

गाउँपालिका केन्द्र छनोट गर्न १२ लाख ५० हजार बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्रको उपयुक्त स्थान छनोट गर्न १२ लाख बढी बजेट छुट्याइएको छ ।

सामाजिक, भौगोलिक र पूर्वाधारको अध्ययनको लागि विज्ञ टोली बोलाउने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो । उहाँले भन्नुभयो, “भविष्यसम्मको लागि उपयुक्त स्थानमा केन्द्र छनौट हुन्छ । ” टोलीको प्रतिवेदनका आधारमा गाउँसभाले केन्द्रवारे निर्णयले गर्ने पनि अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

राज्य पुनःसंरचना हुँदा सविकको डिलाशैनी गाविस हालको वडा नं ७० मा गाउँपालिका केन्द्र तोकिएको र त्यसपश्चात गाउँकार्यपालिकाको पहिलो बैठकले पनि डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने निर्णय गरेको थियो । गएको १ वर्षदेखि तोकिएको केन्द्र भन्दा बाहिर सम्पर्क केन्द्र राखेर गाउँपालिकाले कामकाज गरिरहेको छ । गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि वडा नं ३ पसेराबाट कामकाज भइरहेको छ ।

प्रतिक्रिया दिनुस