ऐश्वर्या कुवँर

महेन्द्रनगर । कञ्चनपुरमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका एसपी कमल थापा विवादमा पर्न थालेका छन् । यहि फागुन १ गते देखि जिल्लामा प्रहरीको नेतृत्व सम्हालेका एसपी थापा पैसा सहित पक्राउ परेका जुवाडेहरुलाई रातारात निःशर्त छोडेपछि विवादित बनेका हुन् । नेकपा एमालेकी नेतृ कमला भट्टको घरमा जुवा तास खेलिरहेको एक समुहलाई सोमबार राती सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो कैलालीको टोलीले ४० हजार नगद रुपैँया र तासको बण्डल सहित पक्राउ गरेको थियो । भीनपा–४ भगतपुरमा एमाले नेतृ भट्टको घरमा जुवा चलिरहेको गोप्य सूचनाका आधारमा उक्त प्रहरीको टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको स्रोतको तर्क छ । हप्ता दिन अगाडी मात्रै जिल्लामा प्रहरी प्रमुखको नेतृत्व सम्हाल्न पुगेका थापाले राजनीतिक रंग सहित जुवाडेहरुलाई बिनासर्त रातारात छोडेको पाइएपछि महेन्द्रनगरमा उनको कार्यसम्पादन तथा मनोवृत्तिमाथि टिका–टिप्पणी हुन थालेका छन् । जुवा–तास खेलिरहेको अवस्थामा स–प्रमाण नगद रकम सहित पक्राउ परेका ७÷८ जनालाई एसपी थापाले उन्मुक्ति दिनुले समाजमा प्रयाप्त विकृति, विसंगती तथा अपराधका घटनाहरुमा लगाम लगाउने कसि(निकाय) निरिह बन्नेमा शंका गर्ने ठाउँ देखिएको छ । प्रहरी अनुसन्धान ब्युरो कैलालीलाई प्राप्त जानकारी अनुसार लामो समय देखि जुवा खेलाउने अड्डाको रुपमा रहेको एमाले नेतृ भट्टको घरमा ठुलो जुवा चलिरहेको पूर्व सुचनाका आधारमा छापा हानिएको स्रोत बताउछ । स्रोतका अनुसार उक्त जुवामा एक जना सशस्त्र प्रहरीका सई पनि रहेका थिए । त्यस्तै भीमदत्त नगरपालिकामा कार्यरत ड्राइभर पनि रहेको स्रोतको दाबि छ । कञ्चनपुर प्रहरी प्रमुख एसपी थापाले जुवाडे पक्राउ गर्ने अनुसन्धान ब्युरो कैलालीको टोलीका एक सदस्यलाई सुचना चुहावट गरेको भन्दै जागिर खाइदिने धम्की दिएको तथ्य समेत खुलेको छ । राजनीतिक आस्था एवं पकडका लागि एसपी थापाले पक्राउ परेका जुवाडेलाई रातारात छोडेका हुन् । एसपी थापाले कुनैपनि जुवाडेहरु पक्राउ नै नपरेको दाबि गरेका छन् । यद्यपी सुदूर पश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो कैलालीको टोलीले ४० हजार नगद रुपैँया र तासको बण्डल सहित पक्राउ गरेका भिडियो आभाषकुञ्ज संग सुरक्षित छ । यो तथ्य संगै प्रदेशको टोलीले जुवाडेहरु सहित बरामद गरेको नगद रकम जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाएको बताउदै आएको छ । कुनैपनि जुवाडेहरु पक्राउ नपरेको दाबि गर्दै आएका एसपी थापा, स–साना ‘इस्यू’ भन्दा ठुला ‘इस्यू’हरुमा पत्रकारहरुले ध्यान दिनुपर्ने तर्कराख्छन् । ‘कञ्चनपुरमा सोमवार राती कुनै पनि जुवाडेहरु पक्राउ परेका छैनन्’ एसपी थपाले भने, ‘पत्रकारहरुले यस्ता स–साना इस्यूहरु भन्दा ठुला इस्यूहरुमा ध्यान दिनुप¥यो । जुवा तासका त समान्य घटनाहरु हुन् ।’ २०७५ भदौ १ गते देखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहिता ऐनले जुवा खेल्ने वा खेलाउनेहरुलाई ३ वर्ष सम्म कैद र १० हजार जरिवाना लाग्ने व्यवस्था गरेको छ । कसैको घर, कोठा, सम्पत्ति र गाडिमा ठाँउ दिएमा त्यस्तालाई पनि जुवा खेल्ने सरह नै कार्वाहीको व्यवस्था गरिएको छ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम प्रहरीले जफत गर्नुका साथै संलग्नलाई १ वर्ष सम्म कैद र १० हजार रुपँैया जरिवना गर्ने व्यवस्था जुवा ऐनमा उल्लेख गरिएको छ । प्रहरीले उक्त घटना मिलाउन खोजिएको देखिएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँडीले यस बारेमा बुझ्ने बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुस