झलारी। शुक्लाफाँटा नगरपालिकाले फागुन १७ गते स्थानीय विदा दिएको छ। शुक्लाफाँटा नगरपालिका–८स्थित मणिकाधाम बैजनाथ मन्दिरमा लाग्ने मेलाको अवसरमा एक दिन स्थानीय विदा दिइएको हो।

‘नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा फागुन १७ गतेका दिन सार्वजनिक विदा दिने निर्णय भएको सम्बन्धित सबैमा जानकारी गरिन्छ,’ नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जारी गरेको सूचनामा उल्लेख छ।

मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि नगरपालिका तथा बैजनाथ मन्दिर व्यवस्थापन समितिले आवश्यक तयारी गरेको नगर प्रमुख रणबहादुर महराले बताए।

‘मेलालाई शन्तिपुर्ण, सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ उनले भने, ‘मणिकाधाममा लाग्ने मेलाले नगरसँगै मुलककै गरिमा बढाउँछ।’ मेलाले धार्मिक पर्यटनसँगै व्यावसायिक क्षेत्रलाई समेत टेवा पुग्ने उनको भनाई छ।

‘यहाँ प्रकृतिक ताल छ, चुरेको फेदमा भएकाले पर्यटकलाई झन आकर्षित गर्दछ,’ उनले भने, ‘यहाँ कैलाली, कञ्चनपुर, डडेल्धुरा र भारतबाट समेत पर्यटक आउँछन्, हाम्रो नगरलाई चिनाउनका लागि सबैको सहयोग आवश्यक छ।’

मणिका धामलाई यस क्षेत्रका स्थानिय बासिन्दाले मुडकाका नामले चिन्दछन। धाम क्षेत्रमा बैजनाथ वावाको प्राचिन मन्दिर र मन्दिर नजिकै ठुलो तलाउ रहेको छ।

प्रतिक्रिया दिनुस