कञ्चनपुर असोज ८ ,सरकारद्वारा प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका जन सरकार प्रमुखले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा विप्लव समुह कञ्चनपुरका जिल्ला सदस्य समेत रहेका बीर बहादुर सुनारले विप्लव पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । सुनारले एक प्रेस विज्ञप्ती जारी गर्दै विगत लामो समयदेखि विप्लव माओवादीमा आबद्ध रहेको जनाउदै जनपरिषद् रहदासम्म भूमिगत जिवन विताउदै आएको जनाईएका छन् ।
‘म केही महिनादेखि भारतको विभिन्न स्थानमा भूमिगत जिवन विताउदै आएको हुँ, ‘बीर बहादुर सुनारले विज्ञप्तीमा उल्लेख गरेका छन्, ‘मैले संगठनमा बसेर कुनै अपराधिक गतिबिधीमा संलग्न नभएको सबैमा जानकारी गराउँछु ।’ आफु क्रियाशिल रहेको पार्टी विप्लव समुहले हिंसात्मक गतिबिधी गरेको आरोप समेत लगाउदै एकीकृत जनक्रान्तिको कार्य दिशामा आफ्नो र परिवारको कुनैपनि मन नभएको र मेरो आफ्नो स्वास्थ्य कमजोर भई सो पार्टीमा रही काम गर्न नसक्ने भएकाले आजकै मितिदेखि नेकपा विप्लवमा कुनै सम्बन्ध नरहेको र विप्लवको साधारण सदस्य समेत नरहने जनाएका छन् ।
जिल्ला सचिव एव जनपरिषद् कञ्चनपुरका प्रमुख सुनारद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा स्वतन्त्र नागरिक भएर बस्ने इच्छा भएकाले पार्टीबाट राजिनामा दिएको प्रेस विज्ञप्ती मार्फत जनाईएको छ ।
सुनार दुई महिना अघि नै पार्टीबाट निष्कासित
यस विषयमा नेकपा विप्लव कञ्चनपुरले बीर बहादुर सुनारलाई पाटीबाट निष्कासित गरिएको जनाएको छ । नेकपा विप्लवका एक नेताले यस दैनिकलाई पाटीमाथी प्रतिबन्ध लागेपछि पार्टीको सम्पर्क र पार्टीको काम भन्दा बाहिर हिडेकाले कार्बाही गरिएको बताए ।
‘उनलाई दुई महिना पहिल्यै कार्बाही गरेका हौँ, ‘ति नेताले भने, ‘बीर बहादुरको सुनारको सट्टामा अर्का नेतालाई जिम्मेबारी दिईसकेका छौँ, अहिले आएर पार्टी परित्याग गरेको भन्नु कत्तियको जायज होला ।’
विप्लव नेताहरुले पार्टीमाथी सरकारले प्रतिबन्ध लागेपछि प्रतिरोध गर्नुको साटो क्रान्तिबाट विचल्लीत भएकालाई कार्बाही गरिएको जनाएका छन् । विप्लवमाथी सरकारले फागुन २८ देखि प्रतिबन्ध लगाएको छ । विप्लवमाथीको प्रतिबन्धको विषयमा राजनीतिक वृतमा प्रतिबन्ध ठिक वा बेठिक भन्ने विषयमा बहस चलेको छ ।

प्रतिक्रिया दिनुस