धनसिह धामी 

कञ्चनपुर । काठ तस्करी मुद्दामा फरार कञ्चनपुरका एक अभियुक्त अढाई दशकपछि पक्राउ परेका छन । काठ तस्करी मुद्दामा फरार भएका कृष्णपुर नगरपालिका ६ बस्ने गोरे रोकाया २७ बर्षपछि पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले अदालतबाट ०५३ सालतिर काठ चोरी निकासी मुद्दामा कैद र जरिवाना तोकिएका रोकाया पक्राउ गरिएको बताए । रोकायालाई बुधबार घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२६ असार ०५३ सालमा जिल्ला अदालत कञ्चनपुरले रोकायालाई काठ चोरी निकासी मुद्दामा १ बर्ष कैद र १७ हजार, ३८० रुपैँया जरिवाना तोकेको थियो । रोकायाले जरिवाना र कैद भुक्तान नगरेपछि पक्राउ गरेर अदालत पेश गरिएको छ ।

‘काठ चोरी निकासी मुद्दामा रोकायाले कैद भुक्तान र तोकिएको जरिवाना भुक्तान नगरेपछि हामीले पक्राउ गरेर अदालत पेश गरेका छौँ, ‘प्रवक्ता डाँगीले भने, ‘प्रहरीले अदालत पेश गरेका रोकाया बुधबारै जेल चलान भएका छन ।’ उतिबेलै ०५३ सालतिर गरिएको अपराध ०८० मा आएर भुक्तानी गर्नुपर्ने बाध्यता आएको छ ।

युवा अवस्थामा गरिएको अपराध अहिले बृद्ध अवस्थामा पुगेर भुक्तान गर्नुपर्ने बाध्यताले समेत अपराध गरेपछि एक दिन अवश्य नै कानुनको कठघरमा उभिनुपर्ने उदाहारण प्रष्ट भएको छ ।

प्रतिक्रिया दिनुस