किशोर कुमार तामाङ 

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक दिने नि:शुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरको आयोजना एवम् पुनर्वास नगरपालिका र नागरिक आरोग्य स्वास्थ्य केन्द्रको समन्वयमा पुनर्वास नगरपालिका वडा नं ६ मा रहेको पुनर्वास जनता माध्यमिक बिद्यालय ,प्रतिभानगर टाउनमा विभिन्न किसिमका रोगहरुको चेकजाँचका लागि एक दिने नि:शुल्क बिशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रसाद शर्मा को प्रमुख आतिथ्य र महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरका प्रमुख डाक्टर ओम प्रकाश कलौनीको अध्यक्षतामा पुनर्वास जनता माध्यमिक विद्यालयको प्राङ्गाणमा एक समारोह आयोजना गरी शिविरको उद्घाटन गरिएको थियो।

 

पौराणिककालदेखि नै आयुर्वेद चिकित्साको सबै व्यवस्थापन हुँदै आएको भए पनि त्यसलाई प्रयोगमा ल्याउने क्रममा आधुनिकतासँग समन्वय गरेर जाँदा पछाडि परि हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन र आयुर्वेद चिकित्साप्रति जनचासो बढाउन तथा प्रचार प्रसारका लागि शिविरको आयोजन गरिएको थियो।

 

स्वस्थ र तन्दुरुस्त शरीर साना देखि बृद्ध मानिसहरूका निम्ति अपरिहार्य छ। जनमानसमा स्वास्थ्यको जिम्मा केवल स्वास्थ्यकर्मीको हो भन्ने बुझाईले पनि स्वास्थ्यको पाटो निकै जटिल बन्दै गएको डा. खगेन्द्र बहादुर बमले बताए। उनले स्वास्थ्य स्वास्थ्यकर्मीको मात्र नभएर हामी सबैको हो भनेर बुझिदिन अनुरोध गरेका थिए। उनले शिविरमा उपचार गरिएका पुराना रोगीलाई आयुर्वेद अस्पतालको सम्पर्कमा रहन आग्रह गरिएको थियो ।

 

उक्त कार्यक्रममा बोल्दै त्रिभुवन स्वास्थ्य चौकीका ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ५ का वडा अध्यक्ष पदम बहादुर रोकायले अधिकांस मानिसहरू आयुर्वेद उपचार पद्धतिको बेवास्ता गरी चाडो निको हुने भन्दै अग्रेजी दवाई तर्फ आकर्षित हुदाँ अहिलेको स्वास्थ्य क्षेत्रमा देखिएका जटिल रोगहरूको सामना गर्नु परेको बताए। उनले आयुर्वेद चिकित्साको सल्लाह र सुझाव अनुसार उपचार गर्न सके आफ्नै घर आँगन र खेतवारीमा पाईने बोटबिरुवा र अन्न उब्जनी बाट उपचार गर्न सकिने बताए। आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने उनको जिकिर थियो ।

 

 

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले अस्पतालसम्म जान नसक्ने र आर्थिक रुपमा कमजोर घरपरिवारका विरामीलाई स्वास्थ्य शिविरले महत्वपुर्ण सेवा प्रदान गर्ने अपेक्षा आफुले लिएको बताए ।नगरप्रमुख शर्माले “रोगको उपचार भन्दा उपचार नै नगर्ने वातावरण बनाउन स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम तथा आयुर्वेद औषधि पद्धतिको विकासमा जोड दिने प्रतिबद्धता गरे। शर्माले ” स्वस्थ पानी,स्वस्थ जीन्दगानी जस्तै आयुर्वेदीक औषधी आफुहरुको जीवनमा निकै उपयोगी हुने शर्माले बताए । आगामी दिनहरुमा समेत नगरबासिको स्वास्थ्यलाई मध्यनजर गर्दै विविध किसिमका स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिए ।

 

नेपाल सरकारको निति अनुसार महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरले कञ्चनपुरको प्रत्येक स्थानिय तहमा नागरिक अरोग्यता स्वास्थ्य केन्द्रको स्थापना गर्ने क्रममा पुनर्वास नगरपालिकामा पनि गत बर्ष स्थापना गरिएको डाक्टर ओम प्रकाश कलौनीले जानकारी दिए।‘सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्साका प्रमुख दुई उद्देश्य रहेका छन्’, उनले भने, ‘स्वस्थ व्यक्तिको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्नु नै आयुर्वेदको प्रमुख उद्देश्य हो ।’ परापूर्वकालदेखि आयुर्वेद चिकित्सा अपनाउँदै आएको भए पनि पछिल्लो समय यो चिकित्सा पद्धति ओझेलमा परेको भन्दै डा. कलौनीले आयुर्वेद चिकित्सा पद्धतिसँग हाम्रो जीवन जोडिएको बताए । आयुर्वेदलाई धेरैले उपचार पद्धतिका रुपमा स्वीकार गर्न अन्कनाइरहेका अवस्थामा एलोपेथिक उपचारपछि ठीक नभएका कतिपय बिरामी आयुर्वेदमा पुगेपछि निको हुने गरेको उनको भनाई थियो।

 

स्थानीय सरकारको समन्वयमा नि:शुल्क रुपमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिविर राखिएकोमा सेवाग्राही निकै खुसी भएका छन् । यस्तै शिविरबाट निशुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श दिईएको थियो। शिविरमा बीएएमएस एम.डी. डाक्टर ओम प्रकाश कलौनी, डा. खगेन्द्र बहादुर बम र डाक्टर राजेन्द्र प्रसाद भट्ट गरी तीन जना चिकित्सकीय डाक्टर सहित १२ जनाको टिमले विरामीहरुको चेकजाँच गरेका थिए । शिविरमा महिला पुरुष गरि लगभग २ सय जनाले स्वास्थ्य सेवा लिएको थियो।

प्रतिक्रिया दिनुस