महेन्द्रनगर । संयुक्त अरब इमिरेट्सको अल एनमा जारी २५औं एशियन युथ बुद्धिचाल प्रतियोगिता–२०२३ मा कञ्चनपुरका खेलाडी हार्दिक पन्तले ५ खेल जितेका छन् । ४३ देशका ६४० खेलाडी सहभागी रहेको प्रतियोगितामा नेपालको तर्फबाट कञ्चनपुरका ९ वर्षीय हार्दिक पन्त एक मात्र खेलाडी सहभागी छन् ।

१२ डिसेम्बरदेखि शुरू भएको प्रतियोगितामा हार्दिकले रेपिडमा २, ब्लिट्जमा २ र क्लासिकलमा १ गरी हालसम्म ५ खेल जितेका छन् । प्रतियोगिता २१ डिसेम्बरसम्म चल्नेछ । नेपालका खेलाडी हार्दिक ननरेटेड नयाँ खेलाडी हुन् तर उनले सबै खेल रेटेड खेलाडीसँग खेलेका छन् । नेपालको प्रतिनिधि हेडको रूपमा हार्दिकसँगै दुबईमा रहेका नेपाल चेस एशोसिएशनका कोषाध्यक्ष ताराबहादुर रानाभाटका अनुसार हार्दिकले निकै मेहनत गरेर खेलिरहेका छन् ।


अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिता उनको खेल जीवनमा निकै सकारात्मक र प्रेरणामूलक रहने कोषाध्यक्ष रानाभाट बताउँछन् । कार्यक्रमस्थलमा एशियन बुद्धिचाल महासंघको साधारणसभा समेत सम्पन्न भएको छ । कञ्चनपुरको शुक्लाफाँटाका निवासी हार्दिक पन्त हाल काठमाडौंको कीर्तिपुरस्थित पुष्पसदन माध्यमिक विद्यालय काठमाडौंमा ४ कक्षामा अध्ययनरत छन्।

प्रतिक्रिया दिनुस