कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा संचालित समुदायको वाढी उत्थानशिलता मापन परियोजना(एफआरएमसी)ले वाढी प्रभावित समुदायको उत्थानशिल कार्यमा भूमिका निर्वाह गर्दै आएको एक अध्ययनले देखिएको छ । निडस नेपालले मर्सिकोरसंगको साझेदारीमा दुई बर्ष अघि कृष्णपुर नगरपालिका २ नम्बर वडामा सचालन गरेको उक्त परियोजनाबाट वाढी प्रभावित समुदाय उत्थानशिलतर्फ उन्मुख भएका हुन । यस अघि उनीहरु वाढीबाट प्रभावित भएर आफु कसरी सुरक्षित बाँच्नेदेखिका विभिन्न ज्ञान नहुँदा समस्याग्रस्थ रुपमा बाँच्न विवश थिए, तर कार्यक्रम सचालन भएपछि उनीहरुले विपद् प्रतिकार्यका काममा आफै सकृय देखिएका छन ।

समुदायको वाढी उत्थानशिलता मापन परियोजना (एफआरएमसी)का कार्यक्रम संयोजक नविन भण्डारीले दुई बर्ष अघि कृष्णपुर नगरपालिका २ नम्बर वडाका मछेली, बनहरा, वण्ड सहितका नदी प्रभावित समुदायमा कार्यक्रममा संचालन गरिएपछि उनीहरु आफ्नो अधिकार सहित प्रतिकार्यमा अग्रसर भएको बताए । परियोजना संचालन लागु पुर्व गरिएको समुदायको अध्ययन र पश्चात थुप्रै भिन्नता रहेको अध्ययनले देखाएको छ । ४ स्रोत, ५ पुँजी र ४४ विभिन्न बुदामा गरिएको अध्ययनले समुदायका नागरिक विपद्बारे थुप्रै जानकार भएको देखिएको छ ।

बिहीबार कृष्णपुर नगरपालिकामा आयोजित गरिएको परियोजना समापन तथा अध्ययन सर्वेक्षण नतिजा कार्यक्रममा परियोजना संयोजक भण्डारीले प्रभावित समुदायलाई संगठितदेखि उनीहरुमा पुर्व सुचना प्रणाली, प्रतिकार्य, तालिम, नमुना अभ्यास, जिविकोपार्जनका कार्यक्रम संचालन, नमुना अभ्यास, जैविक तटबन्ध, आपतकालिन कोष स्थापना सहितका विवित कार्यक्रम गरिएको बताए ।

कार्यक्रम लागु भएपछि आफुहरु विपद्बारे जानकार भएको उनीहरुले बताएका छन । वाढी प्रभावित क्षेत्रकी गोमती बोहराले निड्स नेपालले संचालन गरेको कार्यक्रमबाट आफुहरु वाढीबाट कसरी बाँच्नदेखि हक अधिकारका विषयमा जानकार भएको बताईन । ‘पहिले हाम्रो घरबस्तीमा वाढी गएपनि हामीलाई कसरी बाँच्ने बारे थाहै थिएन, ‘उनले भनिन, ‘अहिले कार्यक्रम लागु भएपछि थुप्रै विषयमा जानकारी पाईएको छ, वाढीको उत्थानशिल कार्यमा हामी अग्रसर भएका छौँ ।’

अर्का स्थानीय जित बहादुर लुहारले वाढीबाट पीडा हुँदा न्यायका लागि सम्बन्धीत निकायमा जानेदेखि विपद जोखिमबारे जानकार भएको बताए । उनले आफुहरुका समस्या बारे समाधानका लागि सम्बन्धीत निकायमा घचघच्याउन सक्ने बताए । कृष्णपुर नगरपालिकाका आईटी अधिकृत मदन पाण्डेले सस्थाले अध्ययन गरेको तथ्याङ्क पालिकालाई उपलब्ध गराएपछि भावि दिनमा नीति, निर्माणका लागि सहयोगी हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले निड्स नेपालबाट संचालित कार्यक्रमले विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा पालिकासंगै साझेदारी, समन्वय गरेर विपद रोकथामका क्षेत्रमा कामकाज गर्ने बताईन् ।

प्रतिक्रिया दिनुस