काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिले आयोजना गरेको ‘२९ औं जनयुद्ध दिवस कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिले निर्णय अनुसार देशभर जनयुद्ध दिवस मनाएको हो ।

कञ्चनपुरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले समाज कल्याण बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई कापि कलम बितरण गरेर जनयुद्ध दिवस मनाएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज सहितका अनुसार एक कार्यक्रमका बिच कञ्चनपुरमा रहेको समाज कल्याण बाल अनाथालयमा बस्दै आएका अनाथ बालबालिकालाई कापि कलम लगायत शैक्षिक सामग्री वितरण गरेर दिवस मनाएको बताए ।

त्यस्तै पार्टी अध्यक्ष मोहन वैद्य किरणको अध्यक्षता केन्द्रीय कार्यलयमा जनयुद्ध दिवस मनाएको छ । जन युद्ध दिवस कार्यक्रममा अध्यक्ष किरणले जनयुद्ध दिवस मनाउनुको अर्थ अर्को क्रान्तिको तयारी गर्नु हो भन्नुभयो ।

उहाँले चारैतिर फटाहा र बदमासहरुको जगजगी देख्दा फेरि छापामार युद्ध अर्थात् जनयुद्ध सुरु गरिहालौ झै लाग्ने गरेको भन्दै दलाल संसदीय व्यवस्था अब धेरै दिन नटिक्ने बताउनु भयो । उहाँले जनयुद्धको थालनी, त्यसपछिका घटनाक्रम हुँदै शान्तिप्रक्रियासम्मका घटनाक्रमको चर्चा गर्दै भन्नुभयो, “जनयुद्धको मूल लक्ष्य पूरा भएको छैन । त्यही तरिकाले होइन जनयुद्धको लक्ष्य पूरा गर्न अब नयाँ तरिकाले फेरि विद्रोह गर्नुपर्छ । क्रान्तिको विकल्प छैन । क्रान्ति हुन्छ । क्रान्तिको भविष्य समुज्वल छ ।”

त्यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पार्टीका वरिष्ठ कार्यालय सदस्य सीपी गजुरेल गौरवले साम्राज्यवादी विस्तारवादीहरुले प्रचण्डमार्फत् क्रान्ति सिध्याउन नयाँ प्रयोग गरेको धारणा राख्नुभयो । प्रचण्डले आफू सबैको लागि ‘कम्फर्टेबल’ रहेको भन्दै आफै विज्ञापन गर्दै हिड्ने गरेको चर्चा गर्दै प्रचण्डको वर्गीय र आत्मसमर्पणका कारण प्रतिक्रान्ति हावी भएको स्पष्ट पार्नुभयो ।

पार्टीका कार्यालय सदस्य राजवीरले नेपाली जनयुद्धका बरेमा देशभित्र मात्रै नभएर विश्वभर नै बहसको विषय बनेको भन्दै जनयुद्धको उद्देश्य पूरा नहुँदै प्रचण्ड आफैले जनयुद्धको अन्त्य गरेको बताउनु भयो । उहाँले फेरि क्रान्तिको प्रक्रिया अगाडि बढ्दा प्रचण्डहरुले नै फेरि क्रान्तिकारीहरुको टाउकाको मूल्य तोक्न सक्ने पनि बताउनु भयो । उहाँले क्रान्तिको लागि राम्रो तयारीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका कार्यालय सदस्य तथा युवा नेता उदयबहादुर चलाउने दिपकले जनयुद्ध दिवस केवल स्मरणका लागि मात्र नभएर भावी क्रान्तिको तयारीको रुपमा मनाउनुपर्ने भन्दै दशवर्षे जनयुद्धको अनुभव र वर्तमन राजनीतिक संकटको बिचबाट हेर्दा क्रान्तिलाई अब नयाँ ढंगले अगाडि बढाउन सक्ने आँट हिम्मत क्रान्तिकारीहरुमा पैदा हुनु्पर्ने धारणा राख्नुभयो । देशलाई अग्रगामी क्रान्तिकारी विकल्पको दिशामा अगाडि बढाउन एक पटक फेरि क्रान्तिकारीहरुले हिम्मत गर्ने बेला आएकोमा उहाँले जोड दिनुभयो ।

पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक दिनेश शर्मा सागरले क्रान्तिका लागि त्याग, तपस्या, उच्च नैतिकता, इमान्दारिता र गोपनीयताको आवश्यक पर्ने बताउनु भयो । जनयुद्ध सुरु गर्दाभन्दा अहिलेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल धेरै ठूलो भएको भन्दै संख्याले मात्र क्रान्ति नगर्ने क्रान्तिका लागि सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही हुनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका अर्का कार्यालय सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले जनयुद्धकै तागतमा स्थापित अधिकारहरु पनि अहिले खोसिने क्रम तीव्र बनेको भन्दै अब आदिवासी जनजातिहरुले आफ्नो अधिकार स्थापित गर्न फेरि अर्को लडाइँ लड्नुपर्ने स्थिति आएको बताउनु भयो । उहाँले वर्ग मुक्ति नभएसम्म जातीय मुक्ति पनि नहुने भन्दै सम्पूर्ण शोषित उत्पीडित आदिवासी जनजातिहरुलाई अब हुने क्रान्तिमा जोडिन अपिल गर्नुभयो ।

त्यसैगरी पार्टी सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले दशवर्ष लामो जनयुद्धमा महिलाहरुले नयाँ इतिहास रच्न सफल भएको बताउनु भयो । उहाँले जनयुद्धमा ४० प्रतिशतभन्दा बढी महिलाहरुको सहभागिता रहेको चर्चा गर्दै जनयुद्धमा क्रान्तिकारी महिलाहरुले प्रदर्शन गरेको वीरता, सौर्यता र बलिदान भावी क्रान्तिको लागि उर्जा र उत्प्रेरणाको गौरवशाली गाथा भएको बताउनु भयो । जनयुद्धमा बन्दुक उठाएर वर्ग वैरीका विरुद्ध लडेका महिलाहरु अहिले चुलोचौकोमा सीमित हुन पुगेको भन्दै उहाँले महिला मुक्तिका निम्ति फेरि पनि क्रान्तिको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।

त्यसैगरी पार्टीका सचिवालय सदस्य तथा सहिद वेपत्ता योद्धा परिवार समाजका संयोजक पुस्कर श्रेष्ठले दशवर्षे जनयुद्धमा हजारौ सहिदहरुले गरेको बलिदान प्रचण्डहरुलाई प्रधानमन्त्री बनाउनका लागि नभएको भन्दै जनयुद्धमाथि प्रचण्ड–बाबुरामहरुले ठूलो धोका र गद्दारी गरेको बताउनु भयो । अब सहिद परिवार, वेपत्ता योद्धा परिवारहरुले प्रचण्ड–बाबुरामहरुको त्यो धोका र गद्दारीबाट शिक्षा लिदै महान सहिदहरुका अधुरा सपना र अधुरा संघर्षको पूरा गर्न क्रान्तिमा गोलबन्द हुँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

क्रान्तिकारी युवा संगठन, नेपालका नेता अविनाश कुँवरले देशमा क्रान्तिको खाँचो टड्कारो बनेको विषयलाई जोड दिनु भयो । एकपटक क्रान्तिकारीहरुले क्रान्तिका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्ने बेला आएको बताउनु भयो ।

एकीकृत दलित मुक्ति मेर्चाका संयोजक दर्शन नेपालीले दशवर्षको जनयुद्धले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक अन्तरविरोध हल गर्न नसकेको भन्दै ती अन्तरविरोध हल गर्न अर्को जनयुद्धको खाँचो रहेको औल्याउनु भयो । उहाँले दलित समुदायमाथि भइरहेको शोषण, दमन, विभेदको चर्चा गर्दै दलित समुदायको मुक्तिका निम्ति फेरि पनि नयाँ जनयुद्धको आवश्यकता रहेको बताउनु भयो ।

त्यसैगरी अखिल ९क्रान्तिकारी०का सहसंयोजक विरेन्द्र शाहले क्रान्तिकारीहरुले आफैभित्रका गलत प्रवृत्तिका विरुद्ध निर्मम बनेर दशवर्षे जनयुद्धबाट पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भावी क्रान्तिका लागि हजारौ लाल सिपाहीहरु उत्पादन गर्ने गरी क्रान्तिकरी विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रम पार्टी कार्यालय कुपण्डोलमा सम्पन्न भएको थियो । कार्यक्रममा अवीर लगाएर जनयुद्ध दिवसको शुभकामना साटासाट गरिएको थियो ।

त्यसैगरी आज सातै प्रदेश अन्तर्गतका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा जनयुद्ध दिवस मनाइएको खबर प्राप्त भएको छ । विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुस