कञ्चनपुर । काठ तस्करीको आरोपमा फेरी कञ्चनपुरको एक सामुदायिक वनका उपाध्यक्ष पक्राउ परेका छन । वन भित्र अवैध काठ काटेर तस्करीको आरोपमा कृष्णपुर नगरपालिकाको ग्वालावारी सामुदायिक वनका उपाध्यक्ष प्रकास नाथ पक्राउ परेका हुन । सव डिभिजन वन कार्यालय वाणीको टोलीले कावा अध्यक्ष समेत रहेका उपाध्यक्ष नाथलाई पक्राउ गरेको जनाएको छ । सव डिभिजन वन कार्यालय वाणीका इन्चार्ज हरिनारायण यादवले आइतबार उपाध्यक्ष प्रकासलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान अघि बढाएको बताए । ‘वनभित्र अवैध रुपमा भेटिएको काठ बारे अनुसन्धानका लागि कावा अध्यक्ष तथा उपाध्यक्षलाई हामीले नियन्त्रणमा लिएका छौँ, ‘उनले भने, ‘अदालतबाट तीन दिनको म्याद दिएको छ ।’ कृष्णपुर नगरपालिका २ वाणीमा रहेको ग्वालावारी सामुदायिक वनमा तीन दिन अघि मात्रै वन कार्यालयको टोलीले १६ थान सालका गोलिया बरामद गरेको थियो । ग्वालावारी सामुदायिक वनभित्र अवैध रुपमा काटेका १६ थान सालका गोलिया अर्थात ३१५.५०क्युफिट सालको काठ कटानी गरेको थियो । ग्वालावारी सामुदायिक वनमा अवैध काठ भेटिए लगत्तै कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले स्थलगत अनुगमन गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका थिए । ग्वालावारी सामुदायिक वनमा ठुलो परिमाणमा अवैध काठ लुकाएको अवस्थामा भेटिएका खबर सार्वजनिक भएपछि डिभिजन वन र क्षेत्रीय वन निर्देशनालयले चासो दिएको थियो । सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशक हेमराज विष्टले यसरी वनभित्र बेथिति मच्चाउने घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषि उपर कार्बाही गर्न कडा निर्देशन दिएका थिए । कृष्णपुर नगरका सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष र सचिवसम्मका पदाधिकारी काठ चोरी तस्करीमा धमाधम पक्राउ पर्न थालेपछि कृष्णपुरको सामुदायिक वन सरक्षणमा चुनौती थपिएको संरक्षणकर्मीको दुखेसो छ । वन अपराधमा संलग्नमाथि कार्बाही नहुदा जो वन रक्षक छ, उसैबाट वन सखाप हुने काम भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले वन अपराध नियन्त्रणका लागि कार्यालयको टोली सकृय हुदा नै वनका पदाधिकारी नियन्त्रमा आईरहेको बताए । कृष्णपुरका सामुदायिक वनहरुमा श्रृङखलाबद्ध ढङगबाट काठ तस्करी, बन्यजन्तुको शिकारीजन्य गतिबिधी बढ्दै गएपछि सरोकारवालाको ध्यान कृष्णपुरका वनमा पुगेको छ ।

प्रतिक्रिया दिनुस