बेलडाँडी । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक भए संगै बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ सुदुरपश्चिम प्रदेश भरिकै नियम विपरित भत्ता खाने टप वान जनप्रतिनिधी बनेकी छिन् ।

 

नाथले सुदूपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्बन्धी ऐन, २०७५ को दफा ३ को उपदफा १ संग सम्बन्धित अनुसूचि १ (ख) मा निर्धारण गरेको सुविधा बाहेक अन्य सुबिधा लिन नपाईने व्यवस्था लाई लत्याउदै पालिकाबाट अवैध भत्ता खाएको महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

बेलडाँडी गाउँपालिकाको अनुगमन तथा सपरिवेक्षण समिति कार्यसंचालन कार्यविधि, २०७८ को दफा ११ अनुसार अनुगमन तथा सुपरीवेक्षण कार्यमा संगलग्न रहने पदाधिकारीको भत्ता तथा अन्य सुबिधा प्रदेश कानुन बमोजिम हुने व्यवस्था प्रष्ट छ । पालिका भित्र तथा पालिका कार्यालय परिसरमा अनुगमन गरेवापत पालिकाका कर्मचारीलाई पनि कुनै सुविधा उपलब्ध गराउनु हुदैन । तसर्थ पालिका परिसरमा संचालित कार्यक्रमको अनुगमन तथा सुपरीवेक्षण भत्ता भुक्तानी गर्न मिल्ने आधार नभएकोले असुल गर्नुपर्ने महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

 

जसअनुसार उपाध्यक्ष नाथले नियम विपरित न्यायीक जनचेतना मुलक कार्यक्रम वाफत ५ हजार, सहकारी लेखा व्यवस्थापन तालिम अनुगमन तथा सुपरिवेक्षण गरेवाफत ५ हजार, न्यायिक अधिकार तालिम अनुगमन सुपरिवेक्षण गरेवाफत ५ हजार, ३ दिने भल्मन्सा तथा बडघर सम्वन्धि न्यायिक तालिम अनुगमन गरेवाफत ५ हजार, ५ दिने सरसफाई तथा फोहर मैला व्यवस्थापन सम्वन्धि कार्यक्रम तालिमको अनुगमन सुपरिवेक्षण गरेवाफत ५ हजार, ५ दिने वातावरण संरक्षण सम्वन्धी कार्यक्रमको अनुगमन सुपरिवेक्षण गरेवाफत ५ हजार, ५ दिने विपद व्यवस्थापन सम्वन्धी कार्यक्रम अनुगमन सुपरिवेक्षण गरेवाफत ५ हजार, ५ दिने वनजंगल संरक्षण र व्यवस्थापन सम्वन्धी कार्यक्रम अनुगमन सुपरिवेक्षण गरे बाफत ५ हजार लगायत थुप्रै यस्ता कार्यक्रम बाट नियम विपरित रकम लिएको देखिएपछि असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

 

 

स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधीहरुले नियम विपरित खाएको भत्ता असुल गर्नुपर्ने प्रतिवेदन सहित सार्वजनिक गरिएको छ । बेलडाँडी गाउँपालिकाको आ.व. २०७९÷८०को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा सबै भन्दा बढी नियम विपरित भत्ता खाएको उपाध्यक्ष शान्ति नाथ र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले देखिएको छ ।

 

 

समृद्ध गाउँपालिका बनाउने नारा घन्काएर चुनाब जितेका उनले पैसामुखी कार्य मात्र गरेको देख्दा आफ्नै पाटीका नेता कार्यकता लगायत स्थानीय समेत हैरान भएका छन् । हो उनले अनियमितता गर्ने कर्मचारीहरुलाई समेत सहि बाटोमा ल्याउने दायित्वका साथ काम गर्नुको साटो आफुमुखी नियम विपरित जनताले तिरेको करमा रजै गर्दै खाजा नास्तामा समेत तमाम खर्च गरेका छन् ।

 

कोठा भित्र अर्थात पालिका भित्र हुने कार्यक्रमको पालिका उपाध्यक्ष तथा अनुगमन सुपरिवेक्षण समितिकी संयोजेक नाथले भत्ता खाने बाहेक अर्को काम नगरेको महालेखापरीक्षणले देखाएको छ । महालेखापरीक्षण प्रतिवेनको २० नं. मा यस्तो उल्लेख गरिएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १६ (ख) ५ मा उप प्रमुख वा उपाध्यक्षले योजना तथा कार्यक्रमको अनुगमन सुपरिवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने र (ग) २ मा वडाबाट कार्यन्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने सो को अनुगमन तथा आवधिक समिक्षा गर्ने गराउने व्यवस्था छ । यस पालिकामा आ.व.२०७९÷८० मा संचालन भएका योजना तथा कार्यान्वयन भई सम्पन्न भएका योजनाको प्राविधिक प्रतिवेदनका आधारमा खर्च भुक्तानी गरेकोमा सोको पालिका उप प्रमुख र सम्वन्धित वडा अध्यक्षले योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरेको प्रतिवेदन आंशिक पेश गरेको देखिन्छ भने पालिकाद्धारा संचालित योजनाहरु लक्ष्य अनुसार सम्पन्न भए भएनन भनी पालिकाले आधिकारिक समिक्षा गरेको प्रतिवेदन समेत छैन् । अतःयसले गर्दा पालिकाद्धारा संचालित सबै योजना तथा कार्यक्रम लक्ष्य अनुसार नै सम्पन्न भएका छन् भन्ने प्रष्ट आधार नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक स्थानीय तहको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा बेलडाडी गाउँपालिकाको बेरुजु २ करोड ६८ लाख ९१ हजार छ । यसमा सबैभन्दा बढी पेश्की बेरुजु १ करोड ६६ लाख ४४ हजार छ । त्यस बाहेक अशुल गर्न पर्ने २८ लाख ११ हजार, कागजात पेश गर्न गर्ने ६१ लाख ९ हजार, नियमति गर्न पर्ने १३ लाख, २७ हजार छ । गाउँपालिकाको हालसम्मको बेरुजु ९ करोड ३२ लाख २७ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुस