काठमाण्डौं, २१ कार्तिक । नेकपा क्रान्तिकारी माओवादीले एक वक्तव्य जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी–लिपुलेक क्षेत्र गाभिएको विषयलाई नेपाली भूभागमाथि गरिएको नाङ्गो विस्तारवादी हस्तक्षेपको संज्ञा दिंदै त्यसको सशक्त विरोधमा उत्रन जनसमुदायलाई आव्हान गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले बुधबार विहान एक वक्तव्य जारी गरी यस्तो अनुरोध गरेका हुन् ।
वक्तव्यमा भनिएको छ, “भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभागलाई भारतमा गाभिएको छ । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो ।
यसबारे सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गंभीर बन्न जरुरी छ । हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्दछ । साथै, यसबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ ।
अन्तमा, हाम्रो पार्टी यस प्रकारको भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गर्न सम्पूर्ण देशभक्त नेपाली जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।”