हरीश भट्ट ,
नेपाललाई भारतको सहयोग हुने क्षेत्र स्कूल, सडक, पुल, छात्रवृत्ति र कहिलेकाहीँ सैनिक सामग्री हुन् । उसले हामीलाई एम्बुलेन्स पनि दिइरहन्छ । नेपालले उसलाई पैंचोमा दिइरहेको भनेको युवाशक्ति, जलस्रोतदेखि सम्पदासम्म । हामी भारतसँग खासगरी राजनीतिक रुपमा माग्न थाल्यौं । सत्ता सञ्चालनको शक्ति नै उतैबाट पाइने ठानेर हामीले देशको भविष्यसँग जोडिएका केही महत्वपूर्ण कुरामा उसको सुझाव हस्तक्षेप स्वीकार्‍यौं । भारतले अब मागेपनि नमागेपनि हरेक साना–साना काममा पनि सुझाव दिइरहन्छ र सुझाव नमाने उसले सीमाबाट बोली लगाउँछ ।

भारतीय पक्ष विभिन्न समय परिस्तिथिमा भएका धेरै असमान सम्झौताहरू पुनरावलोकन गर्न तयार छौं भन्छ । तर, नेपालमै आएर सन्धीमा राजनीति नगर्न ‘धम्कि’ दिएर जान्छ । यसकारण सन्धिसम्झौता र सीमा समस्या पनि बार्गेनिङ गर्ने मुद्दा मात्रै बनेका छन् । आजभोलि हाम्रो दक्षिणी छिमेकीले खुला सीमाना भएकै कारण नेपाललाई चासोपूर्वक हेर्ने गरेको स्पष्ट पार्ने गर्दछ । अद्वितीय सम्बन्ध भएकाले खुला सीमाना भएको हो कि खुला सीमानाले हाम्रो सम्बन्ध विशेष र बेजोड भएको वा उसले चासोपूर्वक हेर्ने गरेको हो रु यी शब्द केलाउनुपर्छ ।

सीमा प्राकृतिक कुरा हो र सम्बन्ध राजनीतिक कुरा । हामी २ मुलुक २ विपरित दिशातिर फर्के पनि सीमालाई उल्टा फर्काउन सक्दैनौं । सीमा कायमै रहन्छ । बहसको विषय हो– सीमालाई स्थिर र सुरक्षित बनाएर ‘बराबरी हित’ हुने गरी कसरी उपयोग गर्ने ।

चीन र भारतको नेपालमा साझा उद्देश्य सुरक्षा चुनौति नै हो । भारत नेपालमा चीनको गतिविधि तथा आतंकवादको प्रवेश रोक्न चाहन्छ भने चीन पनि नेपालमा तिब्बत समर्थित गतिविधि र त्यसमा भारतीय चासोको प्रवेश रोक्न चाहन्छ । उनीहरूका चासोहरू सिधै सीमासँग जोडिन्छन । चीनसँग पनि कुनै ठाउँमा सीमा समस्या होलान् । तर, धेरै सुरक्षा चुनौति छैन । किनकि, उससँगको सीमा व्यवस्थित छ र खुला पनि छैन ।

समस्या
२०५१ सालतिर कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको प्यारातालमा कञ्चनपुर जिल्ला विकास समितिले माछापालनका लागि ठेक्कामा लगाउने गथ्र्यो । अस्तीको घटना आज इतिहास बनिसकेको छ । त्यहाँ जङ्गे पिल्लर हराएपछि तालसहितको जमिनमा भारतीय पक्षले दावी गर्‍यो ।

बिचफाँटा स्कूलको १० विघा जमिन पनि भारतले उपयोग गरिरहेको स्थानीयको भनाई छ । नेपालको पुनर्वास नगरपालिकाले दशगजाभन्दा अगाडि कल्भर्ट निर्माण गरेकोमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीले गोली चलाएर नेपाली नागरिकको हत्या समेत गर्‍यो ।

भारतीय सुरक्षाकर्मी पटक–पटक हतियारसहित नेपाली भूमिमा पस्छन् । कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रवेश गरेर डोटी र अछाम पुरेको खबर आयो । त्यहाँबाट नेपाली प्रहरीले सिधै फिर्ता पठाइदिएपछि प्रहरीका तत्कालीन क्षेत्रीय प्रमुख विवादमा पनि मुछिए । तर, घटना त्यत्तिकैमा सुमसाम भयो । किनकि झापादेखि कञ्चनपुरसम्म यस्तो भई नै रहन्छ ।

नेपाल भारतबीचको १८ सय ८० किलोमिटरको खुला सीमानामा बारम्बार भारतीय पक्षबाट नेपाली भूमि मिच्ने र नेपालीमाथि ज्यादती हुने गरेको घटना नौलो विषय बन्नै छाडिसक्यो । हामी सबैले पढेको, सुनेको हो नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । तर, यो क्षेत्रफलभित्रको नेपाल कति मिचियो रु त्यो सरकारलाई थाहा नभएपनि स्थानीयलाई थाहा छ ।

भारतीय अर्धसैनिक बल बसिरहेको कालापानीमा ३७ हजार हेक्टर भूमि नेपालको हो भन्ने स्पष्ट प्रमाण छ । तर, त्यहाँ नेपालीलाई जान समेत निषेध गरिएको छ । सुस्ताको १४ हजार ५ सय हेक्टर नेपाली भूमिमा भारतीय कब्जा छ । अतिक्रमित भूमिमा व्यक्तिगत स्वामित्व भएका नेपालीहरू डरत्रासमा बाँचिरहेका छन् । नेपालका भारतसँग जोडिएका २६ जिल्लामध्ये विवाद नरहेका भनेका धनुषा, बैतडी र डडेल्धुरा मात्र हुन् ।

नेपाल–भारत सीमामा ठाउँठाउँमा समस्या रहेको नेपाली र भारतीय हरेक नेतालाई थाहा छ । अब पनि कसैले ख्यालख्यालकै लागि सीमा समस्या लम्ब्याइरहने कुरा नेपाली जनतालाई मान्य हुँदैन । तराई क्षेत्रमा बाह्य आप्रवासन अनियन्त्रित र अव्यवस्थित रहेको समस्या पनि छ ।

तराईमा पहाडबाट अव्यवस्थित आन्तरिक बसाइसराई पनि छ । तर, तराईको अस्तव्यस्ततामा मुख्य फ्याक्टर भने अरू नै केही कुरा छ । तराईमा बस्ने रैथाने नेपाली मधेशी समुदाय अल्पमतमा पर्न पुगेको छ भने विशाल मुलुक त्यागेर छिमेकको अस्तव्यस्त सानो मुलुक छिरेका आगन्तुक नागरिकले आफ्नो तृतीय राष्ट्रियता खोज्न थालेको कुरा सीमासँगै जोडिन जान्छ ।

समाधान
खुला सीमाना साँच्चै २ मुलुकको सम्बन्ध इङ्गित गर्ने मुख्य सूचक हो । यस महत्वपूर्ण तर संवेदनशील विषयलाई कसैले कसैमाथि प्रभाव जमाउने मार्गभन्दा पनि एकअर्काको सुरक्षा र सार्वभौमसत्ताको ख्याल गर्दै र अन्तर्राष्ट्रिय प्रचलन र मौलिक भूराजनीति सुहाँउदो गरी खुला सीमालाई व्यवस्थित गर्न जरुरी छ ।

२ विशाल राष्ट्रको बीचमा रहेको सानो मुलुक हुनु हाम्रो भाग्यले होला । तर, खुला सीमाना हाम्रो नियति हैन । खुला सीमानाले निम्त्याएका अस्थिरता र समस्यासँग निरन्तर जुध्नमै समय खर्चिने र यसै मुद्दालाई राजनीति गर्ने भाँडो बनाउने छुट अब नेपाली राजनीतिकर्मीलाई छैन ।

केही महिना अगाडिको पुनर्वास घटनाले संसद र राजधानी पनि छोयो । केही सांसदले सीमा विवादको दीर्घकालीन समाधानका लागि २ देशबीचको सीमानामा स्थायी पर्खाल निर्माण गर्नुपर्ने संसदमा बताए । दुबई लगायतका खाडी देशबाट समेत नेपालीले सीमामा पर्खाल लगाउन अर्बौ रकमको स्वस्फूर्त प्रतिबद्धता आएको केही अनलाइनले छापेका छन् । भारतीय पक्षले सीमानाको जङ्गे पिल्लर हटाएर नेपाली भूमि मिच्ने गरेकाले सीमानामा स्थायी पर्खाल लगाउनुपर्ने केही सिमाविद्को भनाई छ ।

सीमामा खुला आवतजावत बन्द गर्न सकिने या पर्खालै लगाउन सकिनेजस्तो अवस्था अहिले छैन । भावावेगभन्दा वस्तुस्तिथि बुझेर वैकल्पिक सुधारमार्गी समाधानका पाटाहरू पहिल्याउँदै जानुपर्छ । सीमानामा अनुगमनलाई व्यवस्थित गर्ने र अल्पकालीन भिसा दिनेतर्फ अब हाम्रो ध्यान केन्द्रीत हुनुपर्छ । सीमामा परिचयपत्र या अस्थायी भिसाको प्रयोग कुनै नौलो विषय पनि हैन ।

विगतमा पनि यस्ता अभ्यास भइसकेका दुबै देशका विद्वानहरू बताउने गर्छन् । अहिले पनि हवाई मार्गबाट भारत जानेले अनिवार्य परिचयपत्र बोक्नुपर्छ र यस्तै अभ्यास स्थलमार्गमा पनि गर्नु कुनै झन्झट हुँदैन । सीमाका निश्चित नाका मात्र खोल्ने र सीमा सम्बन्धी सूचना र अध्ययन तथ्याङ्कलाई महत्व दिन सरकारले सक्नुपर्छ । भारतले नेपाल सीमाका लागि मात्रै झण्डै ४४ हजार सुरक्षाकर्मी परिचालन गरेको तथ्याङ्क छ । तरपनि समस्या उस्तै छ ।

सीमा समस्या समाधान गर्न ठूलो फौज होइन, ठूलो कुटनीतिक वृत्त तयार गर्नु काइदाको कुरा हुन्छ । सीमा भुगोलभन्दा बढी राजनीति र राजनीतिभन्दा बढी कुटनीतिसँग सम्बन्धित समस्या हो भनेर हामीले बुझ्न सक्नुपर्छ । देशको रक्षा गर्न बलियो आन्तरिक राष्ट्रियता, सबल कुटनीतिज्ञ र छिमेकीबीच आर्थिक भ्रातृत्वको वातावरणले नेपाल सुरक्षित बनाउन सकिन्छ ।

ठेट कुरा के पनि हो भने कालापानी र सुस्ताको विवाद टुंग्याएर दुबै मुलुकले छिटो नेपाल–भारतको आधिकारिक नक्सा सार्वजनिक गर्न सके मात्रै सीमा समस्या ९९ प्रतिशत समाधान भइहाल्ने छ । त्यसपछि सम्बन्ध सुधार्न न त भारतले ब्ल्याङ्क पेपर दिनुपर्ने छ, न त महिनाको एकचोटी नेपाली प्रतिनिधि भारत जानुपर्ने छ ।

समग्रमा देशको रक्षा गर्न नेपालको पहिलो लक्ष्य भनेको आफ्नो समृद्धि र आत्मनिर्भरता हुनुपर्दछ । जसका लागि छिमेकी र उसँगको सीमाको यथोचित उपयोग गर्न सक्छ । हामीले अनुशासित र सन्तुलित सहयोग गरिराख्नुका साथै हाम्रो भूमि र सीमा उनीहरूका लागि सुरक्षित छ भनेर बुझाउन मात्रै सके धेरै कुरा समाधान हुने छन् । हस्तलिखित अनलाइन बाट

प्रतिक्रिया दिनुस