सुनिल राना

कञ्चनपुर,

सरकारले समाजिक सञ्जाल बन्द गरेपछि त्यस बिरुद्धमा कञ्चनपुरमा पनि किशोर, युवा पुस्ता आन्दोलित भएका छन । गत सातादेखि सरकारले समाजिक सञ्जाल फेसबुक लगायतका २६ समाजिक सञ्जाल बन्द गरेपछि कञ्चनपुरका किशोरदेखि युवा पुस्ता आन्दोलित भएका हुन ।

सोमबार उनीहरुले महेन्द्रनगर बजार सहित सरकारी निकाय क्षेत्रमा बिरोध प्रर्दशन गरेका छन । जेनजी उमेर समुहका युवाहरुले समाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता भन्दा मौलाएको भ्रष्टाचार बन्द गर्नुपर्ने माग अघि सारेर बिरोध प्रर्दशन गरेका हुन । दुई बर्षदेखि विदेशी आतङकवादी समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाई गर्न नसक्ने सरकारले सञ्चार बन्द गरेर जनतामाथि अन्याय गरेको भन्दै त्यस तर्फ युवा जागेको बताएका छन ।

जेनजी समुहका युवा सुजित श्रेष्ठले सरकारले गर्न नहुने काम गरेर नागरिकमाथि अन्याय गरेको हुँदा सडकमा आएको बताए । उनले पहिले युवाहरु कुनै सरकार वा सार्वनजिक निकायमा हुने अनियमितता, भ्रष्टाचार बारे समाजिक सञ्जालबाट खबरदारी गर्दै आएका थिए, अहिले समाजिक सञ्जाल बन्द गरेपछि त्यस बिरुद्ध युवा सडकमा आएको बताए ।

अर्की युवती जानकी जोशीले सरकारले भ्रष्टाचारकाण्ड लुकाउनकै लागि समाजिक सञ्जाल मार्फत जनताको मुख छोप्न लागेको बताईन । ‘अहिले वडादेखि सिहदरबारसम्मै भ्रष्टाचार बढेको बढ्यै छ, ‘उनले भनिन, ‘नागरिकले सरकारको सेवा र भ्रष्टाचार बारे समाजिक सञ्जालमा गुनासो पोख्न थालेपछि सञ्जाल बन्द गर्दा सडकबाटै सरकारलाई चेतावनी दिन लागेका छौँ ।’

विद्यार्थी समिरा चन्दले जताजतै भ्रष्टाचार भईरहेको नदेख्ने रोक्न नसक्ने सरकारले जनताको आवाजदेखि भावना रोक्ने काम गरेको दुखेसो पोखिन । यसबाट विद्यार्थी युवा मात्रै होईन आम सबै पक्षकोे दैनिक जिवनमा प्रत्यक्ष प्रभाव परेको छ ।

युवा विद्यार्थी महेश गिरीले मानिस र प्रविधीकोे विकासक्रमसंगै पछिल्ला दिनहरुमा विज्ञानमा आएको विकासलाई पछ्याउँदै गईरहेका बेला सरकारले समाजिक सञ्जाल बन्द गरेर अन्याय गरेको बताए । ‘समाजिक सञ्जाल बन्द गरेर आज धेरै आमाबाबुका सन्तान घर, जिल्ला, देश बाहिर विदेशमा छन, ‘उनले भने, ‘आफन्त सन्तानहरुसंगको संचार पनि सरकारले जोड्नुको साटो तोडिदिएको छ ।’ आफुहरुलाई अध्ययनकै क्रममा पनि धेरै सहज हुने भएपनि सरकारको सनकीपनले त्यसबाट समेत बञ्चित भएको दुखेसो पोखे । उनले एमाले काँग्रेस नेतृत्वको सरकारले युगलाई ढुङगेयुगतर्फ फर्काउन लागेको आरोप लगाए ।

अर्का विद्यार्थी गणेश भट्टले वर्तमान एमाले, काँग्रेस नेतृत्वको पुराना पाटीको सरकारले मुलुकलाई संचारबाट तोडेर बेथिति गर्न खोजेको आरोप लगाए । ‘यही मुलुकमा राणा, राजादेखि पञ्चायतहरुले नागरिकको मुख थुन्ने काम गरेका थिए, जनतालाई ज्ञानसीप होईन रैती बनाएका थिए, त्यहीशैलीमा अहिलेको सरकार उद्यत छ, ‘उनले भने, ‘अहिलेको युग कहाँको कहाँ पुगिसक्यो तर हाम्रो सरकारले संचारको सुविधा बृद्धिको साटो बन्दको बाटोमा लागेको छ, यो भन्दा त वडादेखि सिहदरबारसम्मकै भ्रष्टाचार रोक्नुपर्छ ।’ कञ्चनपुरका युवाहरुले समाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । युवाहरुको आन्दोलनमा आम सर्वसारणले समेत समथ सर्मथन जनाएका छन ।

प्रतिक्रिया दिनुस