कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपप्राध्यापक भट्ट बिरुद्धमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो । १५ मसिरमा उपप्राध्यापक भट्टले श्रीमती जयन्ती भट्टलाई मरणाशन्न हुने गरि कुटपिट गरेपछि माईती पक्ष र स्वयम श्रीमतीले प्रहरीमा दिएको जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले घाईते जयन्तीका माईती पक्षले दिएको जाहेरी दर्ता भएको बताए । ‘जाहेरीपनि दर्ता भयो, आरोपित पनि प्रहरी नियन्त्रणमा छन, ‘एसपी जोशीले भने, ‘घटनाको अनुसन्धान अघि बढिरहेको छ ।’ अदालतबाट ७ दिनेको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी जोशीले बताए ।
घाईते जयन्तीका दाजु जिवन कुमार भट्टले ज्वाई पृथ्वीराज भट्ट बिरुद्ध बहिनीलाई मार्ने खोजेको भन्दै ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । त्यसपछि सेती प्रादेशिक अस्पतालमा उपचारार्थ जयन्तीको समेत जाहेरीमा सहमती लिएको छ ।
माईती पक्षले पटक पटक मदिरा सेवन गरेर जयन्तीमाथि कुटपिट गरेको दुई पटक प्रहरी र एक पटक घरमै मिलापत्र गरेपनि कुटपिट गर्न नछाडेको भन्दै भट्ट बिरुद्ध यस पटक ज्यान उद्योगमै मुद्दा दिएका छन । सोमबारदेखि प्रहरी नियन्त्रणमा रहेका उपप्राध्यापक भट्टमाथि विद्यालय, शिक्षक संघ संगठन, महिला अधिकारकर्मीले कानुनी कार्बाहीको माग अघि सारेका छन ।
कक्षा कोठामा पढाउने शिक्षक श्रीमती कुटेर प्रहरी हिरासतमा भएपछि सुपविका विद्यार्थी समेत पढाईबाट बञ्चित भएका छन । यसैविच मंगलबारै कञ्चनपुरका अधिकारकर्मीले समेत प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा प्रहरी प्रवक्ता उमेशराज जोशीलाई ज्ञापन पत्र बुझाएको छ ।