बेलडाँडी । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि विकासका योजना अघि बढाउने चुनौती मात्र आउँदैन, अनगिन्ती दबाब, राजनीतिक खेल, स्वार्थी गुट उपगुट र निहित स्वार्थले काम गर्न झन् कठिन बनाइदिन्छन् । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले भोगिरहेको अवस्था पनि यस्तै छ ।

“केही गर्न भनेर जनप्रतिनिधि चुनिन्छ, तर सत प्रतिशत जनताका काम गर्न नसकेपनि समग्र आफ्नो पालिकाको भविष्यलाई ध्यानमा राख्दै योजनाहरू अघि सार्नुपर्छ । विकास भनेको कार्यकर्ता पालन पोषण गर्ने माध्यम होइन, समग्र पालिकालाई समृद्धिको बाटोमा डोर्याउने गुरुयोजना निर्माण गर्नु हो,“ रानाको भनाइ छ ।

उनका अनुसार, बेलडाँडीको भविष्य उज्यालो बनाउन उनले आफ्ना व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक उत्तरदायित्वलाई प्रमुखता दिएका छन् । “म यो पदमा कमाउन आएको होइन, मेरो बाउबाजेको सम्पत्ति पर्याप्त छ । तर, बाउबाजेले भनेको कुरा मनमा राखेर, सकिन्छ भने राम्रो गर्ने, अरुको भलो हुने काम गर्ने संकल्पका साथ म राजनीतिमा आएको हुँ,“ उनले भने ।

तर, समस्या यति छ कि बेलडाँडीलाई समृद्ध बनाउन खोज्दा, विकासका योजनामा अवरोध सिर्जना गर्न कतिपय व्यक्ति र गुटहरू सक्रिय हुने गरेका छन् ।

चवन्नी–कालिकिच सडक खोल्ने विषयमा नयाँ तरंग

हालसालै बेलडाँडीमा चर्चा पाएको अर्को विषय चवन्नी बजारदेखि कालिकिच जोड्ने नक्साअनुसारको सडक निर्माणको हो । स्थानीय व्यापारीहरूले बेलडाँडी बजार व्यवस्थापन र उपभोक्ताहरूको सुविधाका लागि नक्साअनुसार सडक खोल्न माग गरेका थिए। पर्यटकलाई सहजता दिने उद्देश्यले व्यापारीहरूको ठूलो टोली नै गाउँपालिकामा पुगेर सडक खोलिदिन अनुरोध गरेको थियो ।

पालिका प्रमुख रानाले व्यापारीहरूको मागलाई गम्भीर रूपमा लिँदै, माननीय तारालामा तामाङ, युवा नेता रोशन बहादुर खडका, स्वयम् प्रमुख र अन्य सरोकारवालाहरूको पहलमा आवश्यक बजेटको व्यवस्था गरे। त्यसपछि, पालिकाले नक्साअनुसारको सडक खोल्ने सूचना जारी ग¥यो ।

नक्साअनुसारको सडक क्षेत्रमा साना–ठूला व्यापारीका संरचनाहरू रहेको खुलेपछि, केही व्यवसायीहरूले पहिले सहमति जनाए पनि, पछि सहमतिबाट पछि हट्दै ‘सहमतिको बाटो’ खोल्नुपर्ने माग राख्न थाले ।

यसले विकास योजनालाई अवरुद्ध पार्ने प्रयत्न भएको रानाले बताए । “पालिकाले अगाडि सारेका योजनाहरू फेल गराउन भित्री खेल सुरु भएको छ। कसरी गुटउपगुट बनाई योजना रोक्न सकिन्छ भन्ने खेल खेल्न थालिएको छ । विकास रोक्ने योजनामा कतिपय जनप्रतिनिधिहरू समेत संलग्न देखिन्छन्,“ उनले दुखेसो पोखे ।

 नक्साको बाटो खोल्न किन आवश्यक छ ?

बेलडाँडी –२ चवन्नी बजारदेखि कालिकिच सडकखण्डसम्मको नक्सामा परेको बाटो खुलाउने विषय अहिले निकै चर्चामा छ । विकासका लागि सडक आवश्यक छ, तर केही संरचनाहरू नक्साको बाटोमा परेका छन्, यथार्थ के हो भने, नेपालको कानुनले नक्साको बाटो कसैको निजी सम्पत्ति बन्ने अनुमति दिँदैन । यदि अहिले हटाइएन भने पनि भविष्यमा कुनै न कुनै दिन सरकारले हटाउनेछ । त्यसैले बारम्बार झन्झट खेप्नु भन्दा अहिले नै सहमतिमा आएर समाधान गर्नु नै सबैका लागि उत्तम विकल्प हो ।

अहिले जुन संरचनाहरू छन्, ती बनाउने बेला कसैले ध्यान नदिएको हुन सक्छ, अथवा अज्ञानतावश बनेका हुन सक्छन् । तर, नक्सामा जुन ठाउँ सडकको रूपमा छुट्याइएको छ, त्यो ठाउँ कोही पनि व्यक्तिको नाममा नापी हुने छैन । त्यो सार्वजनिक सम्पत्ति हो, जसलाई राज्यले जुनसुकै बेला आवश्यक परे हटाउन सक्छ ।

कुनै पनि सडक विस्तार हुँदा प्रारम्भमा केही अप्ठ्यारो पर्न सक्छ, तर दीर्घकालीन रूपमा सबैलाई फाइदा हुन्छ । व्यवस्थित बाटो हुँदा व्यापार, यातायात, पर्यटन र सम्पत्ति मूल्य समेत बढ्छ ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, समग्र समुदायको हितलाई हेर्नुपर्छ । कानुनी रूपमा नक्साको बाटोलाई कुनै पनि व्यक्तिले निजीकरण गर्न सक्दैन, त्यसैले अहिले नै समाधान निकालेर सबैलाई फाइदा पुग्ने गरी निर्णय गर्नु बुद्धिमानी हुनेछ । तसर्थ, भविष्यमा बारम्बार तनावमा रहनु भन्दा अहिले नै समाधान गरेर सबै मिलेर विकासलाई प्राथमिकता दिनुपर्छ ।“ अब बेलडाँडीका जनताले रोज्नुपर्छ – विकासलाई अँगाल्ने कि व्यक्तिगत स्वार्थकै कारण पछाडि पर्ने ?

नक्साको बाटो खोल्न दबाब र अवरोध

पालिकाले नक्साको बाटो खोल्ने निर्णय गरेपछि स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया आएको छ । “८० प्रतिशत नागरिकले नक्साको बाटो खोल्न समर्थन गरेका छन्। तर, केही व्यापारी, केही स्थानीयहरू र केही व्यक्तिहरू नक्साको बाटो खोल्न नदिन विभिन्न निकायमा लबिङ गरिरहेका छन् ।“

पालिकाले भने, कुनै पनि व्यक्तिको लालपुर्जा भएको जमिन नछुने गरी सडक विस्तार गरिने बताएको छ। यदि कसैलाई असहमति छ भने कानुनी बाटो अपनाउन सुझाव दिएको छ ।

“नेपालकै इतिहास हेर्ने हो भने सडक विस्तारका क्रममा लालपुर्जामा दर्ता भएका घरहरू समेत भत्किएका उदाहरण छन् । यहाँ त नक्सामै परेका संरचनाहरू छन्। त्यसैले नागरिकहरूलाई भड्काउने काम रोक्नुपर्छ। आजको केही क्षतिको मूल्य भोलिको समृद्धिको लागि हो भन्ने बुझ्न जरुरी छ,“ रानाले थपे ।

समृद्ध बेलडाँडी निर्माणको संकल्प

पालिका प्रमुख राना भन्छन्, “मैले चालेको कदम गलत छैन । विकासका लागि केही त्याग गर्नुपर्छ । व्यक्तिगत स्वार्थभन्दा पनि पालिकाको उज्ज्वल भविष्य हेर्नुपर्छ ।“

बेलडाँडीको भविष्य निर्माण गर्न कठोर निर्णय लिन आवश्यक देखिएको छ । योजनालाई अवरुद्ध गर्न खोज्नेहरूका अगाडि पालिका प्रमुख दृढ भएर उभिएका छन् । अब हेर्न बाँकी छ, बेलडाँडी समृद्धिको दिशामा अगाडि बढ्छ कि फेरि पनि स्वार्थी राजनीति र व्यक्तिगत लाभका कारण विकास रोकिन्छ ?

जनताको ठूलो अपेक्षा रहेको बेलडाँडीको यो विकास यात्रा कति सफल हुन्छ, समयले बताउनेछ ।

प्रतिक्रिया दिनुस