बेलडाँडी । बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि कालिकिच ताल जोड्ने सडकखण्ड निर्माणको काम अघि बढाएपछि विभिन्न प्रतिक्रिया आउन थालेका छन् । गाउँपालिका उपाध्यक्ष शान्ति नाथ आफैं सडक विस्तार क्षेत्रमा पुगेर नापजाँच गरेपछि पनि केही परिवार पूर्ण रूपमा विस्थापित हुने स्थिति आएको छ ।

 

स्थानियहरूका अनुसार उपाध्यक्ष नाथले गरेको नाप अनुसार केही संरचनाहरू जोगाउने प्रयास गरिए पनि केहीलाई पूर्ण रूपमा हटाउन खोजिएको आरोप लागेको छ । बेलडाँडी–२ स्थित मोडेल चाइल्ड स्कुल नजिकका दुई घर पूर्ण रूपमा प्रभावित हुने अवस्थामा छन् भने चवन्नी बजार क्षेत्रमा करिब आठदेखि दश वटा सटर र घरहरू हट्ने सम्भावना देखिएको छ । यसले गर्दा प्रभावित स्थानीयहरूले विरोध जनाएका छन् ।

 

स्थानीयहरूको भनाइ छ कि एउटै लाइनमा रहेका संरचनाहरूमध्ये केही जोगाउने र केहीलाई हटाउने निर्णय न्यायोचित छैन । उनीहरूले या त सबै संरचना बचाइदिन वा नक्साअनुसार सबै हटाउन माग गरेका छन् । उनीहरूका अनुसार घडेरी किनेर व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरू अचानक विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन् ।

 

चवन्नी बजारका व्यापारीहरूले उचित व्यवस्थापनको माग गरेका छन् । चवन्नी बजारमा सानो व्यापार गरेर गुजारा गरिरहेका खप्तड होटलका सञ्चालकले आफूहरूले यही घडेरीमा खर्च गरेको रकमले अन्यत्र बिघौं जमिन किन्न सकिने थियो तर हामीले नक्साको बाटो हो भनेर थाहाँ नपाएर त्यहाँ पैसा खन्यायौं अहिले यस्तो अवस्था आयो आकाशबाट खसे सरह भएको बताएका छन् । उनीहरूले आफ्नो मात्र संरचना भत्काएर अन्य संरचनाहरू जोगाउने कार्य गलत भएको भन्दै आपत्ति जनाएका छन् ।

 

एउटै नक्सामा पर्ने हामीले उठ्नु पर्ने अर्कोले त्यही व्यवसायी गर्न पाउने कस्तो न्यायोचित कदम हो भन्दै दुखेसो पोखेका छन् । न्याय कानुन सबैका लागि बराबर हुनुपर्ने बताउदै अन्यका संरचना बच्छन भने आफ्नो पनि बचाईदिन माग गरेका छन् ।

 

यस्तै, लामो समयदेखि व्यवसाय गर्दै आएका भुवन खडकाले पनि सहमति भए सबैका संरचना जोगिनुपर्ने, नभए नक्साअनुसार सबै हटाइनुपर्ने बताएका छन् । स्थानीय व्यापारीहरूले कसैलाई प्राथमिकता र कसैलाई उपेक्षा गर्ने कार्य नगरिनुपर्ने सुझाव दिएका छन् ।

 

यसैबीच, उपाध्यक्ष शान्ति नाथले १२ मिटरको सडक खोल्न कसैले विरोध नगरेको बताउँदै अनावश्यक रूपमा घर–पसल भत्काउनु गलत भएको जनाएकी छन् । तर, स्थानीयहरू नाथको मुख्य उद्देश्य आफ्नो घर जोगाउनु रहेको आरोप लगाइरहेका छन् ।

 

बेलडाँडी बजार नजिक सडककै कित्तामा उपाध्यक्ष नाथकै तीनतले घर रहेको छ । पालिका प्रमुख हरिशचन्द्र रानाको चवन्नी बजारमा व्यवसायिक सटर तथा वडा नम्बर २ का अध्यक्ष नारद सिंह उर्यालका दुई व्यवसायिक सटर रहेका छन् । पालिका प्रमुख र वडा अध्यक्षले नक्साअनुसार घर हटाउने तयारी गरे पनि उपाध्यक्ष नाथले आफ्नो घर हटाउने बिषयमा कुनै प्रतिक्रिया नदिएको भन्दै स्थानीयहरू झन् शंकित भएका छन् ।

 

यता ब्यापारीहरुले यति छोटो समयमा संरचना खाली गर्न नसकिने जनाएका छन् । उनीहरुले बैंकिङ कारोबार गरेर व्यवसाय संचालन गरेको भन्दै व्यवसाय नरहे कसरी बैंकको ब्याज तिर्ने भन्दै दुखेको गरेका छन । कसै ब्यापारीले गाउँघरमा सरसमान उधारो दिएको र त्यो असुल गर्ने समय दिनुपर्ने माग अघि सारेका छन् । यति छोटो समयमा संरचना खालि गर्न गाह्रो भएको बताएका छन् । भने खाली गर्ने नै भए आफुहरुलाई थप समय दिनुपर्ने माग समेत अघि सारेका छन् ।

 

यहि सडक नक्सा अनुसार खोल्नका लागि केहि समय पहिला ब्यापारीहरुले पालिकामा ज्ञापन पत्र बुझाएका थिए । सोही अनुसार पालिकाले सडक विस्तारको योजना अघि सारेहो हो ।

 

स्थानीयहरूले बेलडाँडीको विकास र समृद्धिका लागि नक्सा अनुसारको सडक खोलिनु पर्ने माग गर्दै आएका छन् । व्यवस्थित सडक निर्माणले दीर्घकालीन रूपमा व्यापार, यातायात, र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने भएकाले न्यायोचित रूपमा अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुस