काठमाडौँ । ललितपुरको बागडोलमा रहेका एक्मी कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरू अन्यत्र सारिएको छ । लामो समयदेखि पठनपाठन नहुनुका साथै सञ्चालक समेत ण्सम्पर्कमा नआएपछि विद्यार्थीहरूलाई धापासीमा रहेको काठमाडौँ इन्स्च्यिुट अफ टेक्नोलोजी (कीट) मा व्यवस्थापन गरिएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर कलेजले डिप्लोमा तहका डिप्लोमा इन सिभिल, कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङका कोर्सहरू अध्यापन गराउँदै आएको थियो ।

लामो समयदेखि पठनपाठन नभएको, सञ्चालकहरू सम्पर्कमा नआएको, छोटो समयमा शिक्षकहरू परिवर्तन भइरहनेजस्ता कारण पठनपाठन नभएको विद्यार्थीहरूले गुनासो गरेका थिए । सोही आधारमा परिषद्ले कलेजलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरणबारे कुनै जवाफ नदिएपछि परिषद्ले त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई कीटमा स्थानान्तरण गरिएको हो ।

परिषद् सदस्य सचिव महेश भट्टराईले सबैभन्दा पहिला विद्यार्थीको व्यवस्थापन गरिएको बताए । ‘दुई वटा स्कूल मिलेर शुल्कसम्बन्धी सम्झौता गर्नु भनेर चिट्टी पनि पठाएका छौँ । अरू प्रक्रियागत कुराहरू समेत अघि बढिरहेका छन् । कतिपय कुरा हामी गर्न सक्छौँ । कतिपय कुराहरू परिषद्को बैठकले मात्रै गर्न सक्छ । प्रक्रियाअनुसार नै काम भइरहेको छ,’ भट्टराईले भने ।

विद्यार्थीको व्यवस्थापन र शुल्कसम्बन्धी विषय टुङ्ग्याउन भनिएको र त्यो सकिएपछि अन्य प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘सम्बन्धन स्थलगत गर्ने, रद्द गर्ने वा के गर्ने भन्ने विषयमा गृहकार्य अघि बढिरहेको छ । अहिले सबैभन्दा पहिला विद्यार्थीको व्यवस्थापनको काम हो । त्यो चलिरहेको छ । कलेजलाई विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न भनेका छौँ,’ सदस्य सचिव भट्टराईले भने, ‘शुल्कको व्यवस्थापनका लागि दुवै कलेजलाई पत्राचार गरेका छौँ । सम्बन्धन दिने निर्णय परिषद् बैठकले गरेकाले रद्द गर्ने विषयमा समेत काउन्सिलले नै निर्णय गर्नुपर्ने हुन्छ ।’

यसअघि परिषद्ले फागुन ५ गते विज्ञप्ति जारी गरेर नियमानुसार पठनपाठन कार्य सञ्चालन गर्न भनेको थियो । कलेजको प्रशिक्षण कार्य सुचारु गर्न नसकेको, प्रशिक्षकहरूको व्यवस्था नगरेको, शैक्षिक गुणस्तर कायम गर्न नसकेको, ल्याबका सामग्रीहरू नराखेको र प्रयोगात्मक अभ्याससमेत नगरेको गुनासो विद्यार्थीहरूले गरेका थिए ।

विद्यार्थीहरूको गुनासोका आधारमा परिषद्ले टोली गठन गरेर अनुगमनमा खटाएको थियो । त्यस क्रममा कलेजमा प्रशिक्षण, प्रयोगात्मक अभ्यास तथा पूर्वाधार मापदण्ड पूरा नगरेको व्यहोरोका प्रतिवेदन पेस भएको थियो ।

प्रतिक्रिया दिनुस