कञ्चनपुर । बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि पर्यटकीय क्षेत्र कालिकिच जोड्ने नक्साअनुसारको सडक विस्तारको योजना अघि बढाए पनि केही व्यक्तिहरूको अवरोधका कारण काम प्रभावित भएको छ । स्थानीय सरकारको निर्णयलाई कार्यान्वयन गर्न अवरोध सिर्जना गर्दै विकासलाई प्रभावित पार्ने प्रयास गरिएको गाउँपालिकाको दाबी छ ।
गाउँपालिका प्रमुख हरिशचन्द्र रानाका अनुसार व्यवस्थित बजार विकासका लागि नक्साअनुसारको सडक खोल्नुपर्ने बाध्यता रहेको छ । उनले गरिब तथा इमानदार नागरिकले आफ्ना संरचना नक्सा भित्रको सडकबाट हटाइसकेको तर केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि सडक विस्तार रोक्न खोजेको आरोप लगाएका छन् ।
बाहिरबाट ‘विकास भएन’ भन्नेहरूकै घर नक्साअनुसारको सडकभित्र परेको हुँदा योजनालाई असफल बनाउन विभिन्न रणनीति अपनाइएको गाउँपालिकाको भनाइ छ । प्रमुख रानाले बेलडाँडीका जनताको हितमा चालेका कदमहरूलाई केही व्यक्तिहरूले अस्वीकार गरेको बताउँदै स्थानीय सरकारको निर्णयलाई कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् ।
बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि अतिक्रमित जमिन खाली गर्ने निर्णय गरेपछि केही व्यक्तिहरूले त्यसको विरोध जनाएका थिए । त्यसपछि पालिकाले चवन्नी बजारदेखि कालिकिचसम्मको सडक विस्तार योजना अघि बढायो ।
नक्साअनुसार सडक खोलिएपछि खेलमैदान क्षेत्र खाली गराउन सहज हुने भन्दै केही व्यक्तिहरूले प्रभावित पार्ने काम गरिरहेको गाउँपालिकाले बताएको छ । एमाले प्रदेश स्तरीय नेताहरूले पार्टीभित्र गलत प्रचार गर्दै विकासको प्रयास असफल बनाउन खोजेको आरोप स्थानीय वासीले लगाउदै आएका छन् ।
रवि लामिछाने गृहमन्त्री भएका बेला सरकारले अतिक्रमित सार्वजनिक वन तथा जमिन खाली गराउने नीति ल्याएको थियो । जिल्ला प्रशासन कार्यालयले पनि सो नीतिप्रति ऐक्यबद्धता जनाएको थियो । तर, राजनीतिक दबाबका कारण जिल्ला प्रशासन समेत निर्णय कार्यान्वयन गर्न नसकेको देखिएको छ ।
बेलडाँडीमा विकास कार्यमा राजनीतिक हस्तक्षेप हुनु निराशाजनक विषय हो । स्थानीय सरकारको प्रयासलाई असफल बनाउन खोज्नेहरू विकास विरोधी मानसिकताबाट ग्रसित रहेको देखिन्छ । अब बेलडाँडीका जनताले नक्साअनुसारको सडक विस्तार चाहन्छन् कि विकास रोक्न चाहन्छन् भन्ने गम्भीर प्रश्न उठेको छ । यो प्रश्नको उत्तर बेलडाँडीबासी स्वयंले दिनुपर्ने समय आएको छ ।