बेलडाँडी। बेलडाँडीमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली काँग्रेस निकट नेविसंघले बहुमतका साथ विजय हासिल गरेको छ। यो जित नेपाली काँग्रेस बेलडाँडी गाउँ समितिको सक्रिय पहल र रणनीतिक योजनाका कारण सम्भव भएको बताइन्छ। विशेषगरी, नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर बिष्टको कूटनीतिक निर्णाय रह्यो।
यस निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियू पनि जित्न प्रयासरत थियो। एमाले गाउँ कमिटी अध्यक्ष प्रमेराज खातीको नेतृत्वमा चलेको चुनावी रणनीति प्रभावशाली हुन सकेन। मतदाताहरूमाथि प्रभाव पार्न प्रयासरत दुबै पक्षबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसका मतदाताले प्रारम्भमा कुनै दल विशेषलाई स्पष्ट रूपमा समर्थन नजनाए पनि अन्तिम समयमा बिष्टको रणनीतिक ‘ट्रिक’ प्रभावशाली रह्यो। उनले मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै मतदाताहरू र अभिभावकहरूको मन जित्न सफल भए। यसको परिणामस्वरूप मोहन जैशी नेतृत्वमा चुनावमा उत्रिएको नेविसंघ प्यानल पूरै बहुमतका साथ विजयी हुन सफल भयो।
यसबीच, एमाले निकट नेताहरूले आफ्नै पार्टीभित्र ‘घात’ भएको आरोप लगाएका छन्। कतिपय नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै पोस्टहरूसमेत गरेका छन्। पार्टीको संगठित प्रयासबिना विद्यार्थी संगठनलाई विजय दिलाउन कठिन हुने बुद्धिजीवीहरूको भनाइ छ।
विश्लेषकहरूका अनुसार विद्यार्थी संगठनको चुनाव पार्टीको प्रतिष्ठासँग समेत जोडिएको हुन्छ। सोही कारण प्रमुख राजनीतिक दलहरू यस निर्वाचनमा विशेष ध्यान केन्द्रित गर्छन्। बेलडाँडीमा भएको निर्वाचनले पनि यही संकेत गरेको छ कि स्थानीय नेतृत्वको रणनीतिक भूमिका निर्णायक बन्न सक्छ।