बेलडाँडी । राम्रो गर्न खोज्नेहरूको विरोध गर्ने प्रवृत्ति हाम्रो समाजमा गहिरो रूपमा बसेको छ । यसैको पछिल्लो उदाहरण नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हुन् । उनले नेपालमा उज्यालो ल्याउन महत्त्वपूर्ण भूमिका खेले पनि, केही माफियाहरूको दबाबमा परेर उनलाई पदबाट हटाउने निर्णय गरियो ।
तर, उनले गरेका कामहरूको चौतर्फी प्रशंसा भइरहेको छ । यो प्रवृत्ति केवल राष्ट्रिय स्तरमै सीमित छैन, स्थानीय तहमा पनि यही देखिन्छ । बेलडाँडी गाउँपालिकामा पनि यस्तै समस्या देखिएको छ । गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले जनपक्षीय कार्य गर्दा आफ्नै सहकर्मीहरू र केही स्वार्थी व्यक्तिहरूको विरोध झेल्नु परेको छ ।
विकास निर्माणका काममा विशेष ध्यान दिँदा, एमाले निकट समूहहरू समेत उनको गतिविधिलाई रोक्ने प्रयास गरिरहेका छन् । बेलडाँडीको जनसंख्या वृद्धिदर र भविश्यलाई ध्यानमा राख्दै विकास निर्माणको काम अघि बढाइरहँदा, भित्रकै जनप्रतिनिधि नै अवरोध गर्न उद्धत देखिन्छन् ।
१५ शैया अस्पताल निर्माणका क्रममा केही जनप्रतिनिधि फिल्डमै उत्रिएर विरोध जनाए, तर प्रमुख राना आफ्नो अडानमा कायम रहँदै अस्पताल निर्माण सम्पन्न गर्ने दिशामा अघि बढे । यसैगरी, कोल्ड स्टोर, विद्युत् सब–स्टेशनका लागि जमिन खाली गराउने, रेडक्रस भवन निर्माण, आपतकालीन भवन निर्माण, दुग्ध चिस्यान केन्द्र निर्माण, र नक्सामा भएका सडक खोल्ने कार्यहरूमा पनि लगातार अवरोध सिर्जना गरिएको छ ।
यद्यपि, पालिका प्रमुख हरिशचन्द्र राना सत्यको बाटोमा अडिग भएकाले विरोध गर्नेहरूको प्रयास असफल हुँदै आएको छ । यदि उनले कुनै सानो कमजोरी गरे भने आफ्नै सहकर्मीहरूले उनलाई जेलसम्म पुर्याउने षड्यन्त्र गर्नसक्ने स्थानीयहरूले अनुमान गरेका छन् ।
तर, बेलडाँडीका करिब ८० प्रतिशत जनता उनका कार्यहरूबाट सन्तुष्ट छन् । मुख्यत ः सडक बेचेर खाने, सरकारी जमिन अनाधिकृत रूपमा कब्जा गर्ने, र आफ्ना निजी स्वार्थका लागि विकास रोक्नेहरूले मात्रै उनलाई विरोध गरिरहेका छन् ।
यसबाट पुष्टि हुन्छ कि, राम्रो गर्नेहरूको पछि विरोध गर्ने प्रवृत्ति यथावत् छ । तसर्थ, पालिका प्रमुख रानालाई झनै मजबुत भएर जनताको पक्षमा काम गर्न हौसला दिइनु आवश्यक छ । राम्रो काम गर्नेहरूलाई निरुत्साहित गर्ने यो प्रवृत्ति रोक्नुपर्छ ।
चाहे कुलमान घिसिङको मुद्दा होस् वा हरिशचन्द्र रानाको, जनपक्षीय काम गर्ने नेतालाई सघाउनु आजको आवश्यकता हो । जनताले आफ्नो हितका लागि सही निर्णय गर्नुपर्छ, ताकि विकासका मार्गमा अवरोध सृजना गर्नेहरू पराजित हुन् ।