कञ्चनपुर । पुनर्वास नगरपालिकामा सूचीकृत बेरोजगार युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको ५० दिने डकर्मी तथा सडक मर्मत सम्भार तालिम सम्पन्न भएको छ। पुनर्वास रोजगार सेवा केन्द्रको आयोजनामा र बिसीटिसी महेन्द्रनगरको सहकार्यमा भएको उक्त तालिम आज सम्पन्न भएको हो।
वडा नम्बर ७, ८, ९ ,१०र ११ का ४० जना महिला तथा पुरुषहरू सहभागी भएको तालिमले उनीहरूलाई व्यावहारिक सीप प्रदान गरेको छ। रोजगार सेवा केन्द्र पुनर्वासकी संयोजक सुशीला देउबाका अनुसार तालिमपछि सहभागीहरूलाई पुनः ५० दिन सार्वजनिक निर्माणका काममा लगाइने छ। ‘सहभागीहरूलाई ५० दिनको ज्याला पनि उपलब्ध गराइने छ ।’ उनले भनिन्।
बिसीटिसीका निर्देशक मनोज चन्दले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिन मन्त्रालयसँग समन्वय गरेर प्राथमिकता दिने बताएका छन्। कार्यक्रममा उपप्रमुख भुलिया कुमारी रानाले सीप हासिल गरेपछि निजी संस्थाहरूसँग जोडिएर आफ्नो क्षमता अभिवृद्धि गर्न सुझाव दिएकी थिइन्।’पालिकाले सधैं भरी रोजगारी उपलब्ध गराउन नसक्ने भएकाले निजी क्षेत्रसँग पनि आबद्ध भएर आफ्नो सीपलाई व्यवहारमा उतार्नुपर्छ,’उनले भनिन्। तालिमले स्थानीय युवाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास लिइएको छ।