कञ्चनपुर । कञ्चनपुर चुरे क्षेत्रमा रहेको बगुन(साजगाड) खोलामा मापदण्ड विपरित उत्खनन् भएको भन्दै केही स्थानीय बिरोधमा उत्रिएका छन । बेदकोट नगरपालिका ४ बगुन(साजगाड) खोला मापदण्ड विपरित उत्खनन् गरिएको भन्दै तटिय क्षेत्रका केही स्थानीय बिरोधमा उत्रिएका हुन ।
चालु आर्थिक बर्ष ०८१÷०८२मा ठेक्का नलागेपछि बेदकोट नगरपालिकाले नदीजन्य पदार्थ बिक्रि वितरण बाफत पालिकाले अमानतमा संकलन गरिरहेको छ । उनीहरुले नदीजन्य पदार्थको मापदण्ड विपरित दोहन हुँदा समेत सरोकारवाला निकायले वेवास्ता राखेकोे दुखेसो पोखेका छन ।
तटिय क्षेत्रका स्थानीयले मिडियादेखि तीनै तहका सरकारले बेथिति हुँदा समेत वास्ता नराखेको भन्दै आक्र्रोसित भएका हुन ।
स्थानीय राम बहादुर ऐडीले साजगाड खोलाको शुरुवातदेखि मापदण्ड विपरित दोहन हुँदा वडादेखि जिल्लासम्मका निकायमा जानकारी गराउँदा समेत अनुगमन समेत गर्न नपाएको दुखेपो पोखेका छन ।
‘हामीले शुरुवातमै भनेका थियौँ, नदीजन्य पदार्थको उत्खनन् कार्य मापदण्ड विपरित छ, तर हाम्रो कुरा कसैले सुनेन, वडादेखि जिल्ला र पत्रकारलाई गुनासो पोख्दा पनि कहिकतैबाट सुनुवाई भएन ।’
खोलाको पुर्वतिर दैजी जोगबुढा सडक पश्चिममा बगुन गाँउबस्ती भएपनि तटबन्ध गरिएको स्थानदेखि निकै गहिराई खनेर ग्राभिल निकालेर भावि दिनमा कटानीको जोखिम बढ्दै गएको बताए ।
‘खोलाकोे पुर्वतिर सडक र पश्चिमतिरको हरियाली वन, बस्ती जोखिममा परेको छ, ‘उनले भने, ‘यत्रो जोखिम हुँदा पनि नियन्त्रणमा कुनै प्रयास भएको छैन ।’
उनले वडा, पालिका, जिल्ला समन्वयम समिति,प्रशासनसम्मै निवेदन दिदा समेत निवेदनमाथि कुनै सुनुवाई नहुँदा आउँदो बर्षातमा जोखिमको सिकार बन्ने चिन्ता व्यक्त गरेका छन ।
अर्का स्थानीय डम्बर दत्त भट्टले कटानी नियन्त्रणका लागि सिँचाईबाट तटबन्ध निर्माण भएपनि त्यही तटबन्धको तलबाट दोहन गरिएको बताए ।
‘एक सरकारी निकायबाट बस्ती जोगाउन तटबन्ध निर्माण गरिदै छ, ‘उनले भने, ‘स्थानीय सरकारले त्यही तटबन्धकै छेउबाटै उत्खनन् गरिरहेको छ, त्यसबाट हामी जोखिममा पर्ने निश्चित छ ।’
भट्टले पनि नदीको उत्खनन् कार्य व्यवस्थापकीय रुपमा नभएको मनलाग्दी रुपमा उत्खनन् भएको दुखेसो पोखेका छन ।
बेदकोट ३ का स्थानीय गणेश शाहुले साजगाड खोला व्यवस्थापन गर्नुपर्ने बताए । ‘पालिकाले यो खोलाको कटानी नियन्त्रण गर्नका लागि बढिभएको ग्राभिल मापदण्ड अनुरुप विचबाटै व्यवस्थापन गर्नुपर्छ, ‘उनले भने, ‘विच विचमा रहेको डिस्काडिस्की हटाउनुपर्छ, तारजाली गरिएको तटबन्ध भन्दा तलसम्मै गहिरो खाडल हुने गरेर उत्खनन् गर्नु हुँदैन ।’
स्थानीय समेत रहेका बेदकोट नगरका रोयल्टी संकलक भुवन सिह धामीले मापदण्ड अनुरुप नदीजन्य पदार्थ निकाल्ने काम भएको दावि गरेका छन । उनले अहिले जस्तो देखेएपनि पछि सबै व्यवस्थापन हुने बताए । ‘काम गर्ने क्रममा कहिकतै एक ठाँउमा १मिटर भन्दा बढि गहिराईमा नदीजन्य पदार्थ निकालिएको छ, ‘उनले भने, ‘यो जाना जान होईन, काम गर्दा समान्य त्रृटी भएको हो, त्यही खाडललाई लिएर अतिरञ्चित गर्नु हुँदैन ।’
बेदकोट नगरपालिका ४का वडाध्यक्ष नरेन्द्र बोहराले मापदण्ड अनुरुप नदीजन्य पदार्थ उत्खनन् भईरहेको बताए । ‘बेदकोट ४ को क्षेत्रमा पुरै मापदण्ड कायम गरेर नदीजन्य पदार्थ निकालिएको छ, ‘उनले भने, ‘कसैलाई केही मान्छे, व्यक्त वडा पालिकाको विकास निर्माणको काम देखेर बिरोध गर्नुको औचित्य छैन ।’
एक दिन अघि मात्रै आफुले स्थलगत अनुगमन गरेको भन्दै उनले जनप्रतिनिधीले नदीखोला अनुगमन नै नगरेको हो भनेर अफबाह फैलाउने काम बिरोधका लागि बिरोध मात्रै भएको बताए । वडाध्यक्ष बोहराले एक ठाँउमा मापदण्ड मिचेर उत्खनन् गरिएको बताउँदै त्यसलाई तिलको पहाड बनाउन नहुने भन्दै उत्खनन्का दौरानमा देखिएका कमिकमजोरी सच्चाएर अघि बढिने बताए । विकास निर्माणका कामकाज,फरक विचार राख्ने जनप्रतिनिधीको काम देखेर केही मान्छे बिरोधमा उत्रिएको उनको दावि छ । बेदकोट नगरका प्रवक्ता चित्रदेव भट्टले मापदण्ड विपरित उत्खनन् भए नभएको विषयमा स्थलगत अनुगमन गरेर मात्रै पालिकाले निर्णय लिने बतताए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आफुलाई पनि केही स्थानीयले तटबन्धकै मुनीबाट उत्खनन् गरिएको गुनासो गरेकाले स्थलगत अनुगमन गरिने बताए ।