कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थानीय सरकारले चालु शैक्षिक सत्र ०८२ मा अघि सारेकोे सामुदायिक विद्यालय सुधार गर्ने अभियान बिरुद्ध सरकारी विद्यालयका शिक्षक नै देखिएका छन । सरकारी विद्यालयका कार्यरत एक शिक्षककी श्रीमतीले चालु शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान बारे नगरपालिकाले गरेको निर्णय बिरुद्धमा अदालतमा मुद्दा दायर गरेकी छिन । कृष्णपुर नगरपालिका २ वाणि स्थित जनउत्थान आधारभूत विद्यालयमा कार्यरत शिक्षक दिनेश कुमार विष्टकी श्रीमती बसन्ती विष्टले नगरपालिका निर्णय बिरुद्ध ८ जेठ ०८२ मा उच्च अदालत दिपालय महेन्द्रनगर ईजलासमा मुद्दा दायर गरेकी थिईन ।

नगर अनुदान कोटामै कार्यरत शिक्षक विष्टका छोरा सनलाईट बोडिङ्ग स्कुल कक्षा ५ मा अध्ययनरत छन । विष्टले नगरपालिकाले बालबालिकाकोे विद्यालय छान्न पाउने अधिकार हनन् गरेको भन्दै मुद्दा दायर गरेकी थिईन । कृष्णपुर नगरपालिका, नगर कार्यपालिकालाई बिपक्षी बनाएर दायर गरेको उक्त रिटमा अदालतले अन्तरिम आदेश दिएन । बुधबार उक्त रिट उपर उच्च अदालतका न्यायाधीशद्वय दिनेश कुमार यादव र फुर्पा तमाङ्गको संयुक्त ईजलासले अन्तरिम आदेश नदिएको अदालतले जनाएको छ ।

उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासका शाखा अधिकृत गणेश प्रशाद भट्टले बसन्तीदेवी विष्टले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएको बताए । उनका अनुसार संविधान अनुरुप स्थानीय सरकारले गरेका निर्णयले निवेदकलाई क्षति नहुने भन्दै अन्तरिम आदेश नदिएको बताए । ३१ चैत ०८१ मा सम्पन्न ३८औँ नगर कार्यपालिका बैठकले विद्यार्थी भर्ना अभियानसम्बन्धी दुई निर्णय गरेको थियो।

बैठकले नगरपालिकाअन्तर्गतका जनप्रतिनिधि, सामुदायिक विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्य, शिक्षक, कर्मचारीका सन्तान (छोराछोरी, नाति नातिनी) एवं एकाघरका सबै बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने र दोस्रो निजी विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारी अभिभावक एवं अन्य संलग्न व्यक्तिले सामुदायिक विद्यालयको कुनै पनि प्रशासनिक निकाय एव व्यवस्थापकीय जिम्मेवारीमा नरहने निर्णय गरेको थियो ।

उक्त निर्णय बिरुद्धमा यस अघि पनि बोडिङ्ग स्कुलका संचालकहरुले दायर गरेकोे रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि बोडिङ्ग संचालकहरुले ति निमुखा सरकारी विद्यालयका कार्यरत शिक्षक अघि सारेर श्रीमती मार्फत मुद्दा दिन लगाएको नगरपालिकाले जनाएको छ ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले आफुले सामुदायिक विद्यालय सुधारका लागि गरेका प्रयासमा कम्युनिष्ट भन्ने एमालेका अधिकाँस बोडिङ्ग संचालकहरुलाई मन नपरेकाले कहिले संचालक, कहिले अभिभावकबाट मुद्दा दायर गराउन उद्यत रहेको बताए ।

जनउत्थान आविका अध्यक्ष समेत रहेका एमाले कृष्णपुरका सचिव नरेश कार्की, एमाले नगर अध्यक्ष एव ज्योती ईङलिस बोडिङ्ग स्कुलका संचालक कुबेर खडका सहितका एमाले नेता कार्यकर्ताहरुले सामुदायिक विद्यालय सुधार अभियान बिरुद्धमा गएको बताएका छन ।

एमाले सहितका कम्युनिष्ट पार्टीहरुले सामुदायिक विद्यालय बनाउने भनेर चर्काचर्का भाषणबाजी गर्ने तर स्थानीय सरकारले सामुदायिक सुधार सुधार गर्ने निर्णय गरेपछि त्यस बिरुद्धमा संगठित रुपमै बिरोधमा लागेपछि आफु अचम्मित भएको बताए ।

एमाले कृष्णपुर नगरका अध्यक्ष कुबेर खडकाले सत्ताधारी काँग्रेस नेतृत्वको कृष्णपुर स्थानीय सरकारले अघि सारेको सार्वजनिक शिक्षा सुधारमा पाटीको साथ सर्मथन रहने बताउँदै उनले नीति अनुरुप हुनुपर्नेमा दावि गरेका छन । ‘हामी सत्ता साझेदार दल हौँ, मेरो भूमिका फरक फरक छ, ‘उनले भने, ‘हामीले प्रकृयाको मात्रै ध्यानाकर्षण गराएका छौँ, ‘एमाले बिरुद्ध नगरपालिकाले अफबाह फैलायो ।’

नगरपालिकाले सामुदायिक विद्यालय सुधारका लागि अघि सारेको अभियानमा नगरबासीले साथसर्मथन दिईरहेका बेला सत्ता साझेदार दल एमालेले कृष्णपुरमा बिरोध गर्न थालेपछि जनता समेत हैरान भएका छन । नगरपालिकाले सामुदायिक विद्यालय सुधारका लागि ल्याएको योजना सफल पार्नका लागि बिरोध, अवरोध नभई सुझाव सहयोग गर्न अपिल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुस