कञ्चनपुरको लालझाडी गाउँपालिकामा अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम समपन्न भएको छ । शिक्षा प्रवद्र्धन तथा विद्यार्थीलाई आर्थिक सहायताका लागि लालझाडी गाउँपालिकाले ‘अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम’ अन्तर्गत ८६ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले छात्रवृत्ति वितरण तीन वर्गमा गरिएको बताए । प्रतिव्यक्ति ४ हजारका दरले सामान्य धारतर्फ स्नातक तहमा अध्ययनरत ७३ जना छात्रवृत्ति वितरण गरिएको बताए । अपाङ्गता भएका, कमलरी पृष्ठभूमिबाट आएका, वा बुबा आमा नभएका प्राविधिक धारतर्फ डिप्लोमा तहमा अध्ययनरत १० जना विद्यार्थीलाई ७ हजारका दरले दिएको छ ।
स्नातक तहको प्राविधिक धारतर्फ अध्ययनरत ३ जना विद्यार्थीलाई १५ हजार दरले ४ लाख ७ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो प्रमुख प्रशासकीय अधिकृत सार्कीले बताए । सानो रकम भए पनि यो हाम्रा लागी ठूलो सहयोग सहभागी विद्यार्थीले बताए ।
गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले विकाससँगै शिक्षालाई प्राथमिकतामा राख्दै छात्रवृत्ति वितरण गरिएको बताइन । “विद्यार्थीहरूको शिक्षा क्षेत्रमा लगाव बढोस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम अघि सारेका हौं,” उनले बताएकी हुन ।
गाउँपालिका अध्यक्ष निर्मल रानाले विद्यालय छाड्ने दर बढ्दै गएको र धेरै विद्यार्थी आर्थिक कारणले पढ्नबाट वञ्चित हुने अवस्थालाई मध्यनजर गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, “तपाईंहरू नै लालझाडीको भविष्य हो । छात्रवृत्तिको सानो रकमले पनि ठूलो परिवर्तन सम्भव छ । यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ बताए ।”
कार्यक्रमले गाउँपालिकाका विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुका साथै शिक्षा क्षेत्रप्रति समुदायको चासो र सहभागिता अभिवृद्धि गर्ने विश्वास गरिएको छ । कार्यक्रमको सञ्चालन शिक्षा शाखा अधिकृत सिद्धराज भट्टले गरेका थिए । छात्रवृत्ति पाएपछि विद्यार्थी खुसी भएका छन् ।