मदन गिरी

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री संस्था’ घोषणा भएको छ । सोमबार एक कार्यक्रमकाबिच स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था घोषणा गरिएको हो ।

पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वय निर्देशिका–२०७९ ले १६ वटा सुचक निर्धारण गरेको छ । जस अनुसार देखतभुली स्वास्थ्य चौकी १५ वटा सुचकमा सफलता हासिल गरेको छ । भने औषतमा ९० प्रतिशत बढी उपलब्धी हासिल गरेको स्वास्थ्य चौकीले जनाएको छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले देखतभुली स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री संस्था घोषणा गर्न पाउँदा आफुलाई खुसी लागेको बताए । उनले पालिकाले पुर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि प्राथमिकता दिएको बताउँदै समृद्ध लालझाडी बनाउने अभियानमा आफुहरु जुटेको उल्लेख गरे । अलिल्लो वर्ष बालबालिकामैत्री स्वास्थ्य संस्था घोषणा भएको स्मरण गदैँ अध्यक्ष रानाले भने ‘यहाँका आमा समुह, व्यवस्थापन समिति, स्वास्थ्य कर्मचारी साथीहरु सबैको मेहनतले स्वास्थ्य सेवा सुधार हुदैँ गएको छ, पालिकाले सबै स्वास्थ्य संस्था हुदैँ वडा र पालिकालाई पोषणमैत्री पालिका घोषणा गर्ने योजना छ ।’

पालिकाले छ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरि सेवा दिईरहेको र थप एक खोप केन्द्र स्थापनाको तयारी भईरहेको उनको भनाई छ ।

त्यस्तै पालिका अस्पताल सञ्चालनका लागि पुर्वाधार तयार भईसकेकाले जनशक्ती र उपकरण व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारसँग समन्वयन भईरहेको अध्यक्ष रानाले बताए ।

पालिकाले स्थानीय तहको नेतृत्वपछि पुर्वाधार निर्माणमा फड्को मारेको बताउँदै पालिकाकी उपाध्यक्ष सपना चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार भएको बताईन् । उनले पालिकाले सबै क्षेत्रको विकासलाई प्राथमिकताका साथ अगाडी बढाएको बताईन् ।

लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले पालिकालाई जनस्वास्थ्यमैत्री बनाउने लक्ष्य लिएको बताए । सरकारले २०७९ मा जारी गरेको मापदण्ड अनुसार देखतभुली स्वास्थ्य चौकी पोषणमैत्री संस्था घोणणा गरिएको बताउँदै अब त्यसको दिगोपना सुनिश्चताका लागि आफुहरुले काम गर्ने उनको भनाई छ ।

त्यस्तै देखतभुली स्वास्थ्य चौकीका प्रमुख लिलाकान्त झाले पालिका र स्थानीय आमा समुह, स्वास्थ्यकर्मी सबैको सहयोगबाट उक्त उपलब्धी हासिल भएको बताए । उनले पालिकासँगै अन्य अस्पतालहरुसँग पनि समन्वय गरि स्वास्थ्य सेवा सहज बनाउन आफुहरुले काम गरिरहेको बताए ।

पोषणमैत्री संस्था घोषणा कार्यक्रममा प्रमुख झासँगै पोषण फोकल पर्सन मञ्जु कार्कीलाई पालिकाले सम्मान समेत गरेको छ ।

प्रतिक्रिया दिनुस