खडक रावल, कञ्चनपुर
नगरपालिकामा लैङ्गिक समानता प्रवर्द्धन तथा मानव बेचबिखन विरुद्धको अभियानलाई सशक्त बनाउन कार्यपालिकास्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
उक्त कार्यक्रम श्रावण ९ गते शुक्रबार PESWAN र Tearfund को संयुक्त आयोजनामा पहिलोपटक नगरपालिकामा सम्पन्न गरिएको हो। कार्यक्रममा नगर उप–प्रमुख, वडाध्यक्षहरू, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Tearfund का प्रतिनिधि क्षेत्र बहादुर देउवाका अनुसार Tearfund एक अन्तर्राष्ट्रिय संस्था हो, जसले नेपालसहित विश्वका ५० भन्दा बढी देशहरूमा कार्य गर्दै आएको छ। यो संस्थाले समुदायमा रूपान्तरण ल्याउने, प्रकोप तथा संकट व्यवस्थापन, जलवायु परिवर्तन, यौनजन्य तथा लैङ्गिक हिंसा विरुद्ध पैरवी, स्वच्छ पानी तथा सरसफाइका क्षेत्रमा विशेष ध्यान दिँदै आएको छ।
उनले जानकारी दिएअनुसार, यो कार्यक्रम नेपालभर चार जिल्लामा एकसाथ सुरु गरिएको छ भने आजदेखि दोधारा चाँदनी नगरपालिकामा पनि निरन्तर रूपमा कार्यान्वयनमा ल्याइने छ।
कार्यक्रमका अवसरमा PESWAN का प्रतिनिधि लोचन जोशीले संस्थाका उद्देश्य, लक्ष्य तथा भावी योजना प्रस्तुत गर्दै भने,
“PESWAN ले सिमान्तकृत समुदाय, जोखिममा परेका व्यक्ति, गरिब परिवार र विविध जातीय समूहहरूलाई लक्षित गर्दै उनीहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य राखेको छ।”
PESWAN को लक्ष्य, उद्देश्य र दूरदृष्टि:
लक्ष्य: लक्षित समुदाय, परिवार र व्यक्तिको जीवनस्तरमा सुधार ल्याउने।
उद्देश्य: सीमान्तकृत तथा पछाडि पारिएका समुदायहरू (पुरुष, महिला तथा बालबालिका) का आधारभूत आवश्यकताको परिपूर्ति गर्दै सशक्तिकरण र समृद्धिको मार्गमा अग्रसर गराउने।
दूरदृष्टि: त्यस्तो सन्तुलित समाज निर्माण गर्ने जहाँ सबै मानिसहरू स्वस्थ, समृद्ध र सुरक्षित जीवनयापन गर्न सकून्।
उक्त कार्यक्रम सन् २०२५ मार्च १ देखि डिसेम्बर ३१ सम्म संचालन गरिने जानकारी आयोजक संस्थाले दिएका छन्।
कार्यक्रमले नगर क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन, मानव बेचबिखन रोकथाम तथा समुदाय सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।