गैँडाकोट, पौष ५, यस वर्षको सहमति राष्ट्रिय पुरस्कारबाट कलाकार धर्मुस र सुन्तली सम्मानित भएका छन् । गैँडाकोटमा रहेको सहमति संस्थाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तलीलाई सहमति राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको हो ।

धुर्मुस सुन्तलीले दैविक विपत्ति पश्चात नमुना बस्ती निर्माण एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जस्तो अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने महाअभियान थालनी गरी समाजलाई एकीकृत गर्ने अभियानमा लागेको भन्दै संस्थाले सम्मान गरेको संस्थाका संस्थापक अध्यक्ष भीमप्रसाद शर्माले बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व सिताराम कट्टेलले देशको विकास, आपसी सहमतिबाट मात्र सम्भव रहेको भन्दै सबैलाई एक जुट हुन आग्रह गर्नुभएको थियो ।

समुदाय र मानवता विकासका लागि प्रतिवद्ध संस्था सहमतिको अठारौँ वार्षिकोत्सव, एककाइसौँ साधारणसभा एवं सातौँ अधिवेशनको अवसरमा आयोजित संस्थागत सामाजिक परिक्षण एवं सम्मान कार्यक्रममा धर्मुस सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीको अनुपस्थिति रहेपनि सिताराम कट्टेललाई नै उहाँको कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले समाजमा पारदर्शीता र इमान्दारिता भए स्रोत र साधनको अभाव नहुने बताउनुभयो ।

संस्थाका अध्यक्ष होमनाथ सुवेदीले सहमतिका कार्यक्रमले १३ लाख भन्दा बढी जनसंख्या लाभान्वित रहेको बताउँदै आगामी दिनमा अझ बढी प्रभावकारी कार्यक्रमहरु अघि सारिने बताउनुभयो ।

प्रतिक्रिया दिनुस