कञ्चनपुर, मंसिर २७
कञ्चनपुरका युवा पत्रकार विमल धामीलाई सम्मान गरिएको छ । कृषि, स्वास्थ्य, स्थानीय विकास, सुशासनलगायत समग्र बेलडाँडीको विकासका लागि निरन्तर कलम चलाउँदै आएका निडर स्वतन्त्र युवा पत्रकार धामीलाई बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले सम्मान गरेको जनाएको छ । शनिबार सहकारीको ९ औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार धामीलाई दोसल्ला, माला, नगद र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको छ । पत्रकार धामीलाई सम्मान कार्यक्रममा बोल्दै सहकारीकी अध्यक्ष कमला रेग्मी जोशीले जनताको पक्षमा निडरताका साथ सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आएको योगदानको उच्च मूल्यांकन गर्दै पत्रकार धामीलाई सम्मान गरिएको बताइन् । स्थानीय समस्या, विकास र जनचासोका विषयलाई निरन्तर उठाउँदै आएका पत्रकार धामीको यो सम्मानले निष्पक्ष र जिम्मेवार पत्रकारितालाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतनमा सदस्य समेत रहेका पत्रकार धामी झण्डै दशकदेखि पत्रकारितामा सकृय छन । उक्त सहकारीले पत्रकार धामीले बेलडाँडीको दीगो विकास, सम्बृद्धिका लागि उठान गरेका विषयलाई आउँदो पुस्ता समेत लाभात्वित हुने जनाएको छ । पत्रकार धामीले सम्मान पुरस्कारबाट आगामी दिनमा थप कार्यक्षेत्रमा उत्साह थपिदिएको बताए ।

