हेमा भट्ट, कञ्चनपुर
खाद्य तथा पशु दानासम्बन्धी नयाँ ऐन, नियम र मापदण्डका विषयमा सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले कञ्चनपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रम भीमदत्त नगरपालिका, कञ्चनपुरमा मिति २०८२ पौष ०९ गते (बुधबार) सम्पन्न भएको हो।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा खाद्य पदार्थ तथा दाना व्यवसायी, उद्योगी, उपभोक्ता प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता विषयमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हरेराम प्रदानले खाद्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरणका प्रत्येक चरणमा स्वच्छता विज्ञानको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नयाँ ऐन तथा नियम उपभोक्ताको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै गुणस्तरीय र सुरक्षित खाद्य पदार्थ सुनिश्चित गर्न ल्याइएको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, खाद्य पदार्थको गुणस्तरमा सानो लापरबाहीले पनि ठूलो स्वास्थ्य जोखिम निम्त्याउन सक्छ। त्यसैले नयाँ ऐन–नियम केवल कानुनी बाध्यता मात्र नभई सुरक्षित खाद्य प्रणालीतर्फको साझा प्रतिबद्धता हो। साथै, उहाँले दाना उद्योग तथा पशुपन्छी क्षेत्रसँग सम्बन्धित मापदण्ड पालना नगरे दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीबाट प्रस्तुत विषयवस्तुमा खाद्य पदार्थको नमुना परीक्षण, अनुगमन प्रक्रिया, लेबलिङ, म्याद, भण्डारण मापदण्ड तथा दण्ड–जरिवानासम्बन्धी प्रावधानबारे जानकारी दिइएको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले नयाँ कानुनी व्यवस्थाबारे जिज्ञासा राख्दै व्यवहारिक कार्यान्वयनमा देखिने चुनौतीहरूबारे सुझावसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाकी उप–प्रमुख निलम लेखक जोशीले खाद्य स्वच्छता र गुणस्तर नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो। उहाँले स्थानीय तह उपभोक्ता स्वास्थ्य सुरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै भन्नुभयो, स्थानीय सरकार, व्यवसायी र नियमनकारी निकायबीच सहकार्य भए मात्र सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपभोक्तासम्म पुग्न सक्छ।
उहाँले नयाँ ऐन–नियमको प्रभावकारी कार्यान्वयनका लागि जनचेतना, नियमित अनुगमन तथा व्यवसायीमैत्री वातावरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीका नायब प्रविधिक सहायक तोयनाथ ओझाले गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्य, ऐन–नियमको पृष्ठभूमि तथा अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै सरोकारवालाहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल बनेको बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य पदार्थ तथा दानासम्बन्धी नयाँ कानुनी व्यवस्थाले बजारलाई व्यवस्थित बनाउने, उपभोक्ताको विश्वास बढाउने तथा दीर्घकालीन रूपमा स्वस्थ समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, यस्ता कार्यक्रमहरू प्रदेश तथा स्थानीय तहमा निरन्तर रूपमा सञ्चालन गर्नुपर्नेमा सहभागीहरूको जोड रहेको थियो।
यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले सुदूरपश्चिम महोत्सवको क्रममा अनुगमन गरी गुणस्तरहीन तथा म्याद नाघेका केही खाद्यान्न सामग्री नष्ट गरेको थियो। उक्त कदमले बजारमा सतर्कता बढाएको र उपभोक्ता स्वास्थ्य सुरक्षाका लागि यो कार्य सकारात्मक भएको स्थानीयवासीहरूको भनाइ रहेको छ।

