महेन्द्रनगर । भीमदत्त नगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन आज सम्पन्न भएको छ । नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगरका नीति, योजना तथा कार्यक्रमसम्बन्धी विविध महत्वपूर्ण विषयमा छलफल गरिएको छ ।
नगर प्रवक्ता पदमराज अवस्थीका अनुसार अधिवेशनमा विषयगत समितिहरूका प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि भीमदत्त नगरपालिकाको स्वीकृत बजेट तथा कार्यक्रममा आवश्यक हेरफेर, रकमान्तर तथा शिर्षक परिवर्तन सम्बन्धी प्रस्तावहरू पारित गरिएको छ ।
त्यसैगरी नगर कार्यपालिका बैठकका निर्णयहरूको अनुमोदन, संस्थागत क्षमता स्व–मूल्यांकन लगायतका विषयमा समेत विस्तृत छलफल भएको उनले जानकारी दिए । अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख नीलम लेखक जोशीको अनुमतिमा न्यायिक समिति सदस्य तथा नगर सभा सदस्य नरबहादुर साउँदले प्रस्तुत गरेका थिए । यस्तै विभिन्न विषयगत समितिहरूका प्रतिवेदन सम्बन्धित समिति संयोजकहरूले प्रस्तुत गरेका थिए । आर्थिक विकास समितिको प्रतिवेदन गगन सिंह धामी, लेखा समितिको प्रतिवेदन हरिहर दमाई, विधेयक समितिको प्रतिवेदन भूपेन्द्र सिंह रावल, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको प्रतिवेदन प्रताप साउँद, सामाजिक विकास समिति र राजस्व परामर्श समितीको प्रतिवेदन सुशील कुमार भट्ट, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन प्रकाश थापा र पूर्वाधार विकास समितिको प्रतिवेदन पदमराज अवस्थीले प्रस्तुत गरेका थिए । सभाको १८ औँ अधिवेशनले नगरपालिकाको नीति निर्माण, सुशासन प्रवर्द्धन तथा विकास योजनाहरूको कार्यान्वयनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

