पहिलाद राना

बैतडीको मेलौली नगरपालिका–२ दुर्गास्थानमा रहेको केदारेश्वर माध्यमिक विद्यालयको ७३औँ स्थापना दिवस यही पौष १४ गते विविध कार्यक्रमका साथ सोमबार सम्पन्न भएको छ । वि.सं. २०१० सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ (+२) सम्मको पठन–पाठन सञ्चालन हुँदै आएको छ ।

स्थापना दिवस कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर दत्त पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द तथा विशिष्ट अतिथि वडा नम्बर २ का अध्यक्ष कृष्ण दत्त भट्ट रहनु भएको थियो ।

कार्यक्रममा स्थानीय अभिभावक महेन्द्र देव पाण्डेले जेष्ठ नागरिक, दलित र अपाङ्ग गरी २२ जनालाई खादा तथा नगद रकमसहित सम्मान गर्नुभएको थियो । यसैगरी कपडा बैंक सञ्चालक महेश भट्टले १८ जना विद्यार्थीलाई कम्बल वितरण गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक हरिश चन्दले कार्यक्रममा विद्यालयका शैक्षिक गतिविधि तथा आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित खुला भलिबल प्रतियोगितामा छिमेकी ६ वटा विद्यालयको सहभागिता थियो ।

प्रतियोगितामा केदारेश्वर मावि दुर्गास्थान प्रथम, धरमघर मावि सलेना दोस्रो र कैलपालेश्वर मावि ऐचेकाँडा तेस्रो भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी केदारेश्वर मावि दुर्गास्थानका छात्र प्रचण्ड चन्द घोषित भएका छन् । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक प्रेमराज भट्टले गरेका थिए ।

प्रतिक्रिया दिनुस