३० वर्षे फुटबल यात्रापछि हस्तक्षेप र गलत बुझाइप्रति गहिरो असन्तुष्टि
महेन्द्रनगर: कञ्चनपुर जिल्ला फुटबल संघका एक अग्रज फुटबल अधिकारीले फुटबल क्षेत्रमा बढ्दो हस्तक्षेप, गलत बुझाइ र पद प्राप्तिपछि देखिने व्यवहार परिवर्तनप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
लामो समयदेखि नेपाली फुटबलको विकासमा समर्पित रहँदै आएका उनले फुटबलका नाममा आफूले गरेको सहमति र लचकतालाई कमजोरीका रूपमा बुझिनु दुःखद भएको बताएका छन्।
३० वर्षभन्दा बढी समय टिकाटिप्पणी नगरी, कसैको कुरा नकाटी फुटबलको अफिसियल भूमिकामा सक्रिय रहँदै आएका उनले कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षका रूपमा चार कार्यकाल (१६ वर्ष) र अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिमा लगातार तीन कार्यकाल (१२ वर्ष) सेवा गरेको स्मरण गराएका छन्।
उनले फुटबल ‘दुबोझैँ फैलिनु पर्ने खेल’ भएको उल्लेख गर्दै सबैलाई समेटेर अघि बढ्ने आफ्नो जीवन उद्देश्य रहेको स्पष्ट पारेका छन्। तर पछिल्लो समय केही साथीभाइहरूको बुझाइ परिवर्तन हुँदै जानु र पद पाउनेबित्तिकै मान्छेहरू बदलिनु दुःखद भएको उनको भनाइ छ।
सामाजिक सञ्जालमा लेखेको जस्ताको त्यस्तै भनाइ :
“यो त अति हस्तक्षेप भयो हजुर के गर्ने…….
लेख्न नआएर नलेखेको पनि होइन र बोल्न नआएर नबोलेको पनि हैन। लेख्न र बोल्न सबैलाई आउँछ। त्यसकारण कसैले पनि विचार गरेर बोलौं र लेखौं किनभने कसैको पनि धैर्यको एउटा सीमा हुन्छ। जब त्यो सीमा नाग्छ त्यसपछि के हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।
धेरै सोच विचार गरेपछि केही कुरा लेख्न गइरहेको छु। खास गरेर मैले जीवनमा ३० वर्ष कसैका पनि कुरा नकाटेर टिकाटिप्पणी नगरेर फुटबलमा लागेर अफिसियलको रुपमा बिताइसकेको छु। मैले हरेकपटक सबैलाई समेटेर लानुपर्छ भन्ने विचारधारा बोकेर हिँडेको व्यक्ति हो।
फुटबललाई दुबो सरी फैलाउनुपर्छ भन्ने विचारधाराका साथ हरेक व्यक्ति को साथ र सहयोग अति आवश्यक रहन्छ भन्ने विचार राख्दछु। तर अचम्मको कुरो हरेकपटकको फुटबलको लागि गरिएको सम्झौतालाई केही साथीभाइले मेरो कमजोरी सम्झिन थाले।
म हरेकपल्ट फुटबलका लागि मात्रै झुकेको हो। मैले जीवनमा झुक्नुपर्ने कुनै पनि कामहरु गरेको छैन। …
फुटबलको पद भनेको सबैका सहयोगले पाएको पद हो। एक्लो व्यक्तिगत कसैले पनि यो पदहरु पाउन सक्दैन। …
अब कसैको बुझाई नै गलत हुन्छ भने त्यसमा मैले केही पनि गर्न सक्दैन। मैले कसैसित उठ्न बस्न चिया गफ गर्नका लागि पनि कसैको अनुमति लिनुपर्छ भने त्यो कुरालाई मैले स्वीकार्न सक्दैन।
साथै एउटा कुरा के भन्न चाहन्छु भने हरेक जिल्ला आफ्ना जायज निर्णयहरू गर्नका लागि स्वतन्त्र छ। त्यसमा कसैको पनि हस्तक्षेप स्वीकार्य हुँदैन।
फुटबलमा लागेका व्यक्तिहरूले पदमा भएको बेला पदमा नभएका व्यक्तिहरूको पनि सम्मान गर्न सिक्नुपर्छ। पद भन्ने कुरा आज छ भोलि छैन। त्यसकारण फुटबलसित जोडिएका सबै साथीहरुलाई समेटेर आउँदो समयमा मिलेर अगाडि बढ्नेछु। धन्यवाद। जय फुटबल।”
उनले अन्त्यमा पदभन्दा ठूलो फुटबल र सम्बन्ध भएको उल्लेख गर्दै, सबै अग्रज, वर्तमान र भावी फुटबलकर्मीहरूलाई सम्मान र सहकार्यका साथ अघि बढ्न आग्रह गरेका छन्।

