हेमा भट्ट
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। स्थानीय धर्म, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम २०८२ साल माघ ३ र ४ गते राजघाटदेखि राजपुर जाने बाटो नजिकै रहेको राजघाट खेलमैदान मा सञ्चालन हुनेछ।
थारू समुदायको महान पर्व माघी लाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी मेलमिलापको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान, भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दादेखि छिमेकी क्षेत्रका नागरिकसम्मको उल्लेखनीय सहभागिता रहने आयोजक समितिको विश्वास छ। कार्यक्रम दुवै दिन बिहान ११ बजेदेखि सुरु हुनेछ।
स्थानीय समाजसेवी तथा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवा निरज भण्डारी ले रैकवार खबर दैनिकसँग कुरा गर्दै भने,
राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो। यस कार्यक्रममार्फत स्थानीय कला, संस्कृति, भाषा, भेषभूषा र परम्परालाई उजागर गर्ने हाम्रो लक्ष्य छ। सबैको सहकार्य र सहभागितामा यसलाई ऐतिहासिक बनाउने प्रयास गरेका छौं।
कार्यक्रममा एस.एन. लाल बा. धामी (अछामी बड्डो), सोमती चौधरी, लक्ष्मी राना, सौगात ओझा, मनिराम चौधरी, पार्वती राना, राज केशव भट्ट लगायतका विशिष्ट व्यक्तित्व तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहनेछ।
थारू संस्कृतिलाई झल्काउने नृत्य, लोकगीत, परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी तथा मौलिक प्रस्तुति हरूले दर्शकको मन जित्ने आयोजकको दाबी छ।
यस कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी संस्कृति हस्तान्तरणको माध्यम बनाउने लक्ष्य लिइएको छ। विशेष गरी नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, चाडपर्व र पहिचानप्रति जागरुक बनाउने उद्देश्यले कार्यक्रमको संरचना तयार गरिएको आयोजकले बताएका छन्।
कार्यक्रम स्थल राजघाट खेलमैदान (राजघाट–राजपुर सडक खण्ड नजिक) तोकिएको छ। आयोजक समितिका अनुसार कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ, जसले सबै वर्ग, समुदाय र उमेर समूहका नागरिकलाई सहज रूपमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
त्यसैगरी, कार्यक्रम अवधिभर स्थानीय उत्पादन, घरेलु सामग्री, खानाका परिकार तथा विभिन्न व्यापारिक स्टलहरू समेत रहनेछन्। यसले स्थानीय व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
स्टल बुकिङका लागि इच्छुक व्यक्तिहरूले ९८५८४७८००५ र ९८६६२३८८४७ नम्बरमा सम्पर्क गर्न सक्ने आयोजकले जानकारी दिएका छन्।
आयोजक समितिले कृष्णपुर नगरपालिका वडा नं. ९ का सम्पूर्ण वडाबासी, छिमेकी धनगढी उपमहानगरपालिका वडा नं. १३ र ३ का दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण जनसमुदायलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेको छ।
माघी पर्वले नयाँ वर्षको सुरुवात, आपसी मेलमिलाप, सुख–दुःखको साटासाट र सामाजिक एकताको सन्देश दिने भएकाले यस्तो कार्यक्रमले स्थानीय पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि राजघाटमै पहिलोपटक आयोजना हुन लागेको माघी मिलन कार्यक्रमप्रति खुसी व्यक्त गर्दै यस्तो कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने प्रतिक्रिया दिएका छन्।
कृष्णपुर–९ राजघाट, कञ्चनपुरमा आयोजना हुने यो विशेष माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम ले स्थानीय संस्कृति जगेर्ना गर्दै सामाजिक सद्भाव र सांस्कृतिक चेतनालाई नयाँ उचाइमा पुर्याउने विश्वास आयोजक तथा स्थानीयवासीहरूले लिएका छन्।

