बैतडी — पुर्चौडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । नगर कार्यपालिकाको मिति २०८२÷०९÷२२ गतेको निर्णयअनुसार प्रतियोगिता यही माघ ०६ गतेदेखि सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा पुर्चौडी नगरपालिका भित्रका माध्यमिक तहका सबै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता हुनेछ । विद्यालयहरूलाई प्रतियोगितामा सहभागिताका लागि आवश्यक तयारी गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
प्रतियोगितामा समावेस हुने खेलहरूमा छात्र तथा छात्रातर्फ भलिबल, एथलेटिक्स, मार्सल आर्ट र कबड्डी रहेका छन् । एथलेटिक्सतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० र ४×४०० मिटर रिले दौड, ज्याभलिन थ्रो, सटफुट, लङ जम्प, हाइ जम्प तथा ट्रिपल जम्प समावेश छन् । मार्सल आर्टतर्फ विभिन्न तौल समूह यु–४२–४० केजी, ४७–४५ केजी र ५२–५० केजी) मा प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० अनुसार अनुसूची–१ बमोजिमको फाराम भरी माघ ०३ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा टिम दर्ता गरिसक्नु पर्नेछ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर नेपालीले खेलकुद मार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सबै विद्यालयलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नु भएको छ ।

