सभार पश्चिम समाचार
२०८२ फाल्गुन १२, मंगलवार
बेलडाँडी । बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष शान्ति नाथ को कार्यशैलीलाई लिएर पुनः विवाद उत्पन्न भएको थियो । कार्यालय प्रवेशसँगै प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीमाथि अपशब्द प्रयोग गरिएको आरोप लागेपछि केही समयका लागि सेवा ठप्प भएको थियो।
कर्मचारीहरूले प्रशासनिक मर्यादा र कार्यस्थलको अनुशासनको पक्षमा उभिँदै विरोध जनाए पनि सेवाग्राहीलाई समस्या नपरोस् भन्ने उद्देश्यले संयमता अपनाउँदै हिजौ देखिनै सेवा पुनः सञ्चालन गरेका छन् । कार्यालय प्रमुख हरिशचन्द्र रानाले घटनाबारे जिम्मेवारी लिँदै समन्वय गरेपछि सेवा सुचारु भएको बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरी र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् । कर्मचारीहरू कानुनी उपचारको प्रक्रियामा रहेको जनाइएको छ ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार यसअघि पनि पत्राचारमा हस्तक्षेप, धम्कीपूर्ण अभिव्यक्ति जस्ता गतिविधिबारे गुनासा उठ्दै आएका थिए । लोकतान्त्रिक पदमा आसीन व्यक्तिले मर्यादा, संयम र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने अपेक्षा आम रूपमा व्यक्त भइरहेको छ ।
कर्मचारीहरूले सेवा निरन्तरता दिँदै कानुनी बाटो रोज्नुले संस्थागत मर्यादा जोगाउने सन्देश दिएको छ । अब घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनु नै सबै पक्षका लागि हितकर देखिन्छ ।

