कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले मिति २०८२÷०८÷२५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेकी बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ करिब दुई महिनापछि आफूले कानुनी सफाइ पाएको दाबी गर्दै पुनर्वहाली भएको जानकारी सार्वजनिक गरेकी थिइन् । तर पुनर्वहालीपछि कार्यालय प्रवेशकै दिन उनी पुनः विवादमा परेकी छन् ।
कर्मचारीसँग अमर्यादित व्यवहारको आरोप
आइतबार गाउँपालिका प्रवेश गरेकी उपाध्यक्ष नाथले औपचारिक रूपमा हाजिर हुनुअघि नै प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण वि.क. लगायत कर्मचारीसँग अमर्यादित तथा असभ्य शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लागेको छ ।
गाउँपालिकाका कर्मचारीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कर्मचारीको विज्ञप्तिमा के भनिएको छ ?
कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सार्वजनिक प्रशासनको आचारसंहिताविपरीत जनप्रतिनिधिबाट यस्तो व्यवहार हुनु “निन्दनीय, अस्वीकार्य र दुःखद” भएको उल्लेख छ ।
उनीहरूले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण लिई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । साथै, भविष्यमा यस्ता अमर्यादित व्यवहार नदोहोरÞ्याउन सबै पक्षलाई आग्रह गरिएको छ ।
अख्तियारको आरोपपत्रको सार
आयोगको आरोपपत्रअनुसार बेलडाँडी–२ स्थित कित्ता नं. ३५७ (४०० वर्गमिटर) जग्गामा वास्तविक रूपमा कुनै पक्की घर नहुँदा–नहुँदै घर रहेको झुट्टा नक्सा तयार गरी बैंकबाट ऋण लिएको आरोप छ ।
उक्त नक्सा अभिलेखीकरणका आधारमा लक्ष्मी सनराईज बैंक कञ्चनपुर शाखाबाट मिति २०७८÷१२÷१० मा रु. २३,७५,००० र मिति २०७९÷०६÷१३ मा रु. १०,००,००० गरी जम्मा रु. ३३,७५,००० ऋण लिएको उल्लेख गरिएको छ । स्थलगत मुचुल्का र नापी कार्यालयको फिल्ड प्रतिवेदनले सो जग्गामा कुनै पक्की संरचना नभएको किटानी गरेको आयोगको दाबी छ ।

यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथसमेतको मिलेमतो देखिएको उल्लेख गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय मागदाबी गरिएको थियो ।
पुनर्वहालीपछि पुनः असहजता
उपाध्यक्ष नाथले आफूले कानुनी सफाइ पाएको दाबी गरे पनि गाउँपालिका प्रवेशकै दिन कर्मचारीसँगको विवादले स्थानीय तहमा पुनः असहज अवस्था सिर्जना गरेको छ । कर्मचारी, केही जनप्रतिनिधि तथा सेवाग्राहीबीच त्रास र अन्योलको वातावरण बनेको स्थानीय स्रोतको भनाइ छ । यसअघि अख्तियार मुद्दा, झुट्टा नक्सा प्रकरण र बैंक ऋण विवादले चर्चामा आएकी नाथ पुनः व्यवहारगत विवादका कारण आलोचनाको केन्द्रमा पुगेकी छन् ।
सुशासन, पारदर्शिता र संस्थागत मर्यादामाथि प्रश्न उठिरहेका बेला बेलडाँडी गाउँपालिकाको प्रशासनिक वातावरण कसरी सामान्य बन्छ भन्ने चासो बढेको छ । अब सम्बन्धित निकायले छानबिन र कानुनी प्रक्रिया कसरी अगाडि बढाउँछ भन्ने विषयले स्थानीय राजनीति र प्रशासन दुवैको दिशा तय गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुस