
कञ्चनपुर । देशभर बिहिबार सम्पन्न भएको निर्वाचन समग्रमा शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले जनाएको छ।
समितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खटिएका पर्यवेक्षकहरूबाट प्राप्त प्रारम्भिक जानकारीका आधारमा अधिकांश मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सामान्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गरिएको छ।
यद्यपि केही स्थानहरूमा छिटफुट विवाद तथा घटनाका कारण केही समय मतदान प्रक्रिया अवरुद्ध भए पनि सम्बन्धित निकायको सक्रिय पहलमा पुनः मतदान सञ्चालन गरिएको समितिले जनाएको छ।
निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष श्रीकृष्ण सुवेदीद्वारा हस्ताक्षरित बिज्ञप्ती अनुसार जेन्जी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न यस निर्वाचनमा युवा मतदाताको सहभागिता मिश्रित देखिएको छ। शहरी क्षेत्रको तुलनामा ग्रामीण तथा पहाडी भेगमा युवा मतदाताको सहभागिता अपेक्षाकृत कम देखिएको प्रारम्भिक सूचनाले देखाएको छ। त्यसैगरी महिला मतदाताको सहभागिता भने पुरुषको तुलनामा उत्साहजनक रहेको समितिको भनाइ छ।
केही स्थानमा विभिन्न प्रतिबद्धता समयमै सम्बोधन नभएको भन्दै मतदाताले असन्तुष्टि व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी नहुने अवस्था समेत देखिएको बताइएको छ। विशेषगरी दाङ, दार्चुला र बझाङका केही मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति न्यून रहेको पर्यवेक्षणले देखाएको छ।
त्यसैगरी तराईका अधिकांश जिल्लाहरूमा मतदाता शिक्षाको अभावका कारण मत बदरको संख्या वृद्धि हुन सक्ने अनुमान गरिएको छ। केही मतदान केन्द्रभित्र पर्यवेक्षकहरूलाई प्रवेशमा अवरोध सिर्जना भएको घटनाले स्वतन्त्र र प्रभावकारी निर्वाचन पर्यवेक्षण सुनिश्चित गर्न थप समन्वय आवश्यक रहेको समितिले जनाएको छ।
समितिले केही स्थानमा मृत्यु भइसकेका व्यक्तिहरूको नाम मतदाता नामावलीमा कायम रहेको तथा मतदाता सूची पूर्ण रूपमा अद्यावधिक नभएको जस्ता विषयहरू पनि देखिएको जनाएको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको समितिको भनाइ छ।
यसपटक सुरक्षा निकायको परिचालन व्यवस्थित र प्रभावकारी भएकाले समग्र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण योगदान पुगेको समितिले जनाएको छ। यसका लागि नेपाल सरकार, निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरी, राजनीतिक दलका उम्मेदवार तथा आम मतदाताप्रति समितिले धन्यवाद व्यक्त गरेको छ।
समितिले मतगणना प्रक्रियालाई पनि नजिकबाट पर्यवेक्षण गर्ने र देशभर खटिएका आफ्ना पर्यवेक्षकहरूबाट प्राप्त प्रतिवेदनका आधारमा विस्तृत निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।
समितिका अनुसार अघिल्ला निर्वाचनहरूको तुलनामा यसपटक मतदाताको सहभागिता केही कम देखिएको प्रारम्भिक संकेत प्राप्त भएका छन्। लोकतन्त्रमा जनसहभागिता न्यून हुनु लोकतन्त्रलाई कमजोर बनाउने संकेत भएको समितिले जनाएको छ।

