
कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं. ३ कमरी निवासी हरकिसन रानाको हत्या भएको झण्डै एक वर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको भन्दै सांसद कृपा राम रानाले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद रानाले गत वर्ष बैशाख ९ गते शिवनगर आर्यघाट नजिक हातखुट्टा बाँधेर निर्ममतापूर्वक हत्या गरिएको घटनाको अझैसम्म सत्यतथ्य सार्वजनिक नभएको भन्दै गम्भीर आपत्ति जनाए । उनले लोकतान्त्रिक व्यवस्थामा समेत निर्दोष नागरिकले न्याय नपाउनु दुःखद भएको बताए ।
उनका अनुसार आज सिंगो रानाथारु समुदाय सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न बाध्य भएको छ । “सुशासनको दोहाई दिने सरकारले निर्दोष नागरिकको हत्या हुँदा सत्य तथ्य पत्ता लगाउन सकेको छैन,” उनले संसदमा भने ।
सांसद रानाले घटनासँग जोडिएको भनिएको ४० लाख रुपैयाँ अनुदान रकम तथा १२ लाख रुपैयाँको चेकबारे समेत छानबिन गर्न माग गरेका छन् । साथै, हरकिसन रानाको हत्या हुनुअघि उनको घरमा पुगेर ज्यान मार्ने धम्की दिने व्यक्तिहरू को थिए, उनीहरू अहिले कहाँ छन् भन्ने विषयमा पनि सरकारले अनुसन्धान गर्नुपर्ने बताए ।
उनले सरकारसँग घटनाको निष्पक्ष छानबिनगरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । साथै पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

