
धनगढी । सुदूरपश्चिम प्रदेशमा शिशु तथा बालबालिकाको पोषण अवस्थाबारे गरिएको पछिल्लो अध्ययनले प्रारम्भिक स्तनपानको अवस्था सन्तोषजनक देखिए पनि पूर्ण स्तनपान र पोषणयुक्त पूरक आहारमा अझै सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले सार्वजनिक गरेको स्मार्ट प्लस सर्वेक्षणअनुसार जन्मदेखि पाँच महिनासम्मका शिशुमध्ये ६८.३ प्रतिशतले मात्रै पूर्ण रूपमा आमाको दूध पाउने गरेका छन् । बाँकी करिब एकतिहाइ शिशुले भने छ महिना पूरा नहुँदै पानी, अन्य दूध वा अतिरिक्त खानेकुरा सेवन गर्ने गरेको पाइएको छ ।
सर्वेक्षणले जन्मपछि स्तनपान सुरु गर्ने अभ्यास भने प्रदेशमा उत्साहजनक रहेको देखाएको छ । अधिकांश अर्थात् ९८.२ प्रतिशत बालबालिकाले जीवनमा आमाको दूध पाएका छन् भने ८४.९ प्रतिशत शिशुलाई जन्मेको पहिलो एक घण्टाभित्रै स्तनपान गराइएको छ । त्यस्तै, जन्मपछिका पहिलो दुई दिनमा ७९.२ प्रतिशत शिशुले केवल आमाको दूध मात्र सेवन गरेका छन् । १२ देखि २३ महिनासम्मका ९२.५ प्रतिशत बालबालिकाले स्तनपानलाई निरन्तरता दिएको तथ्यांकले देखाएको छ ।
पूरक आहारतर्फ भने अपेक्षित सुधार हुन नसकेको अध्ययनले देखाएको छ । ६ देखि ८ महिनाका अधिकांश शिशुले समयमै थप आहार सुरु गरे पनि पोषणको विविधता र आवश्यक मात्रामा भोजन प्राप्त गर्ने बालबालिकाको संख्या कम छ । न्यूनतम स्वीकार्य पोषणयुक्त आहार पाउने बालबालिकाको हिस्सा केवल ३७.६ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
खानपानको बानीसम्बन्धी तथ्यांकले पनि चिन्ताजनक अवस्था देखाएको छ । झन्डै एकतिहाइ बालबालिकाले अण्डा वा मासुजन्य परिकार सेवन नगरेको पाइएको छ भने ३१.४ प्रतिशतले फलफूल वा हरियो सागसब्जी नै नखाने गरेको अध्ययनले जनाएको छ । अर्कोतर्फ, ४३.४ प्रतिशत बालबालिकाले गुलिया पेय पदार्थ र ३९.३ प्रतिशतले जंक फुड सेवन गर्ने गरेको पाइएको छ ।
सर्वेक्षणले १६.७ प्रतिशत बालबालिकामा दूधदानी (फिडिङ बोतल) प्रयोग हुने गरेको पनि देखाएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार दूधदानीको असुरक्षित प्रयोगले संक्रमणको जोखिम बढाउनुका साथै प्रभावकारी स्तनपानमा असर पु¥याउन सक्छ ।
स्वास्थ्य विज्ञहरूले कोलोस्ट्रम (पहेंलो बाक्लो दूध) फाल्नुपर्ने, बच्चा रोएपछि दूध नपुगेको ठान्ने वा छ महिना नपुग्दै पानी खुवाउनुपर्ने जस्ता सामाजिक धारणा वैज्ञानिक रूपमा गलत रहेको बताएका छन् ।
विश्व स्तनपान सप्ताहको अवसरमा सार्वजनिक गरिएको यस अध्ययनले प्रारम्भिक स्तनपानमा हासिल भएको प्रगतिलाई कायम राख्दै पूर्ण स्तनपान, सन्तुलित पूरक आहार तथा स्तनपानमैत्री वातावरण विस्तार गर्न थप प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

