
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारका गतिविधि विपन्न वर्गको हित र राष्ट्रिय स्वाधीनताको संरक्षणभन्दा विपरीत दिशामा गएको आरोप लगाएका छन् । उनले यस्तो परिस्थितिको सामना गर्न वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै दाहालले साझा मुद्दामा हुने कार्यगत सहकार्यलाई पार्टी एकीकरणको संकेतका रूपमा व्याख्या गर्नु गलत हुने बताए ।
उनले कार्यगत एकता र पार्टी एकता फरक विषय भएको उल्लेख गर्दै कुनै निश्चित उद्देश्यका लागि दलहरूबीच सहकार्य हुनु स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई पार्टी विलयसँग जोडेर भ्रम फैलाउन नहुने स्पष्ट पारे ।
दाहालका अनुसार विषयगत र कार्यगत सहकार्य वर्तमान राजनीतिक आवश्यकताअनुसार गरिनुपर्ने भए पनि दिगो वामपन्थी एकताका लागि विचार, राजनीतिक दृष्टिकोण, संगठनात्मक संरचना र सिद्धान्तमा साझा समझदारी तथा पर्याप्त तयारी अनिवार्य छ ।
उनले वामपन्थी शक्तिहरूबीच विश्वास र समान राजनीतिक आधार निर्माण गर्न सके मात्र प्रभावकारी र दीर्घकालीन एकता सम्भव हुने धारणा समेत व्यक्त गरे ।

